बिर्तामोड, साउन १४ । नेवाः देय दबू बिर्तामोड ९ वडा समिति लखीबारीले यत्तिखेर लाखे,ठाकठुके र रोपाइँ नृत्यको अभ्यास शुरु गरेको छ ।

अभ्यासपछि यही साउन १७ गते नाग पञ्चमीको दिनदेखि यो नृत्य प्रदर्शन गरिने छ।
नेवार समुदायमा लाखे,ठाकठुके र रोपाइँ नाच प्रचलित छ । यसको प्रदर्शनका लागि अहिले तयारी भैरहेको छ । लखीबारीस्थित भिमसेन मन्दिरको प्राङ्गणमा यस नाचको लागि नेवार समुदायका युवायुवती भेला भएर बिहान ७ देखि बेलुकी९ बजेसम्म अभ्यासमा जुटेका छन् । अभ्यासमा ४०–४५ जनाको सहभागिता छ।
विगत ५ बर्षदेखि यस क्षेत्रमा यो नृत्य प्रदर्शन गरिँदै आएको छ । ०७४ सालदेखि यो नृत्य प्रदर्शन गर्न थालिएको हो । नाग पञ्चमीको दिनदेखि बिधिवत रुपमा यो नृत्यको शुरु गरी भाद्र कृष्ण जन्माष्टमीको दिन समापन गरिन्छ। यस बर्ष पनि नाग पञ्चमीको दिनदेखि लाखे नाच प्रदर्शन गर्न लागिएको हो। त्यसको लागि अभ्यासमा व्यस्त रहेको र अभ्यास साउन १६ गतेसम्म चल्ने समितिका पूर्व सचिव यज्ञराज श्रेष्ठले बताए । ‘शुरुको बर्ष यो नृत्य संचालन गर्न कठिनाई नै भयो तर, केही बर्षदेखि यसमा सबैको आकर्षण थपिनाले सहज र सरल भैरहेको छ ’उनले भने,‘ स्तरबृद्धि बर्षैपिच्छे हुँ्दैछ । नृत्यमा प्रयोग हुने सामग्रीको कमी छैन । शुरुमा थोरैको सहभागिता रहन्थ्यो भने केही बर्षयता सहभागिता जनाउनेको संख्या बढेको छ ।’ यस भेगमा रहेका करिब सय घर नेवार समुदायलगायत अन्य समुदायको पनि साथ सहयोग रहेको उनले बताए ।
अहिलेसम्मको सहभागिताले यो नृत्यप्रति राम्रो संकेत दिएको छ । नेवार समुदायको घरघर र बिभिन्न चोकचोकमा यो नृत्य प्रदर्शन गर्ने गरिन्छ । यस नृत्यलाई रमाइलोेका साथ हेरिन्छ । नाग पञ्चमीदेखि भाद्र कृष्ण जन्माष्टमी बीचमा गाईजात्रा पर्व पनि पर्दछ । यो पर्वमा पनि नेवार समुदायको बिशेष चासो रहन्छ ।
विगत पाँच बर्षदेखि लाखे नृत्यमा सहभागी भएका स्थानीय युवा रुपेश श्रेष्ठले अन्य सहभागीलाई सामान्य प्रशिक्षण दिइरहेका छन् । उनले नेवारी बाजा बजाउनेदेखि लाखे,ठाकठुके र रोपाइँ नृत्यको प्रशिक्षण थर्कमान श्रेष्ठबाट लिएका थिए । जसले गर्दा आफूलाई यो नाच नाच्न र अरुलाई प्रशिक्षण दिन सहज भएको उनले बताए। रुपेश त्यस समितिका सांस्कृतिक संयोजक हुन् । यो नाचमा सहभागी भएबापत सहभागीलाई सामान्य पारिश्रमिक दिने ब्यबस्था रहेको समिति सदस्य तथा जेष्ठ नागरिक लालमाया श्रेष्ठले बताइन् ।
बिर्तामोड ९ लखीबारीमा १२ बर्ष अगाडी समाजसेवी मदन श्रेष्ठ र मुक्ति श्रेष्ठले १ कठ्ठा जग्गा दान गरेर सोही ठाउँमा भिमसेन मन्दिर र भवन निर्माण भएको हो । लाखे नाच नाग पञ्चमीका दिन यही ठाउँबाट शुरु गरिन्छ ।
भिमसेन मन्दिर समितिअन्तर्गत अन्य समिति र बचत समूह समेत संचालन रहेको जग्गादाता परिवारका मुक्ति श्रेष्ठले जानकारी दिए । आफूले जुन प्रयोजनको लागि जग्गा प्रदान गरेको हो, सोही प्रयोजनमा लागिपर्न समितिलाई उनको सुभाब छ । यसरी जातीय परम्परा र संस्कृति जोगाउन यस भेगका युवा लागिपरेकोमा समितिका अध्यक्ष तेजप्रसाद श्रेष्ठले खुशी ब्यक्त गरे।