झापा, साउन १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन् । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन् । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । ठूलो कोड भएको विषयको परीक्षा १२ गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ । भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्