झापा, साउन १५ । सामाजिक अभियन्ता भद्रपुर– ६ निवासी सञ्जय भुइँमाली र उनकी श्रीमती भावना कटुवाल (सिर्जना) जटिल रोगबाट ग्रसित बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागिपरेका छन् ।

अभियन्ता भुइँमाली दम्पतीले सामाजिक सञ्जाल टिकटक, फेसबुक तथा विभिन्न सहयोगी दाताहरूबाट आर्थिक संकलन गरी मिर्गौला, क्यान्सर, ब्रेन ट्युमरजस्ता प्राणघातक रोगबाट लडिरहेका बालबालिकाहरूको परिवारजनलाई उपचार खर्च प्रदान गरिरहेका छन् ।

यसैक्रममा ब्रेन ट्युमरपीडित गीता तामाङ बचाउ अभियानमा जुटेका भुइँमाली दम्पतीले उनका परिवारजनलाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
भुइँमाली दम्पतीले भद्रपुर नगरपालिकामा आइतबार दिउँसो एक संक्षिप्त कार्यक्रमको आयोजना गरी गीताका दाजु कुमार तामाङलाई सो रकम नगरपालिकाका प्रमुख गणेश पोखरेलमार्फत प्रदान गरेका छन् ।

भद्रपुर नगरपालिका ८ सुकुम्वासी टोल निवासी ३३ वर्षीया तामाङको हाल बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।
गीताको रकम अभावले उपचार गर्न समस्या भएपछि पीडित पक्षले आफूकहाँ आएको र आफूहरुले संकलन गरेको रकमबाट ५१ हजार दिएको अभियन्ता सञ्जयले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका खडग सुब्बालगायत जनप्रतिनिधि, कर्मचारीहरूको उपस्थिति रहेको थियो । यसअघि पनि भुइमाली दम्पतीले मिर्गौलापीडित भद्रपुर नगरपालिका– ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको परिवारलाई १ लाख ३० हजार ५२५ रुपैयाँ हस्तान्तरण गरिसकेका छन् । साथै अन्य बालबालिकाहरूको उपचारका लागि पनि निरन्तर आर्थिक सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्