मेचीनगर, साउन १७ । मेचीनगर नगरपालिकाको नगरकार्यपालिकाको सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले १३ वटा बुँदामा निर्णय गरेको हो ।

बार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन मार्गदर्शन सम्बन्धमा, कार्यविधि तथा मापदण्ड सम्बन्धमा, नगरकार्यपालिकाको कार्यालयका सवारीसाधन सञ्चालन मापदण्ड, इन्धन सुविधा मापदण्ड, नगर सञ्चार प्रतिष्ठान सञ्चालन कार्यविधि, जग्गा वर्गिकरण सम्बन्धमा, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको, सामी परियोजनासम्बन्धमा बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले नगरको दररेट सम्बन्धमा, जग्गाप्राप्ति सम्बन्धमा, नगर प्रहरीको परीक्षाफल प्रकाशित गर्ने सम्बन्धमा, बेशीबजार हाटबजार प्रयोग भएको जग्गा सम्बन्धमा, सरस्वती बालकल्याण मावि मेचीनगर–१२ र इष्ट होराइजन अंग्रेजी विद्यालयमा कक्षा ११ मा विषय थपको अनुमति सम्बन्धमा, प्रिभेन्सन एण्ड कन्ट्रोल अफ कोभिड–१९ अन्तरगत साना शहरी योजनाका लागि जग्गा व्यवस्थापन सम्बन्धमा, सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकसँगको सम्झौता र तारजाली खरिद सम्बन्धमा निर्णय गरेको छ ।

नगरप्रमुख बुढाथोकीले वडा नम्बर ८ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने बताए । उनले पाटापुरमा बसपार्क र वडा नम्बर ५ का लागि जग्गा उपलब्ध गराउने बताए ।
धुलाबारी स्वास्थ्य केन्द्रमा थप १६ वेडका लागि भवन बनाउने कार्यपालिकाले निर्णय गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

यसैबीच मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठानसम्बन्धी कार्यविधि पारित गरेको छ ।
नगरकार्यपालिकाको बैठकले सञ्चार प्रतिष्ठानसम्बन्धी कार्यविधि पारित गरेको हो ।
मेचीनगरमा दर्ता गरी प्रकाशन प्रसारण भईरहेका संचारगृहको स्थायित्व र संस्थागत विकास गर्न आवश्यक देखिएकोले स्थानीय सरकार संचालन ऐन २०७४ र मेचीनगर नगरपालिकाको प्रशासकीय कार्यविधि २०७५ को दफा ४ अनुसार नगर सञ्चार प्रतिष्ठान गठन तथा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरी जारी गरिएको छ ।
प्रतिष्ठानमा १ जना अध्यक्ष, ३ महिलासहित ७ जना सदस्य र १ जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।अध्यक्ष हुनलाई पत्रकारीता वा अन्य विषयमा स्नातक तह उत्तीर्ण गरी सञ्चार क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनुपर्ने, सदस्यको हकमा न्यूनतम ३ वर्ष सञ्चार क्षेत्रमा अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ भने सदस्य सचिवको हकमा सञ्चार क्षेत्रमा न्यूनतम ५ वर्ष अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ ।
नगरभित्रका तथा बाहिरका पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनमा सूचना, विवरणहरु तथा लोककल्याणकारी विज्ञापनका सम्बन्धमा प्रतिष्ठानको सिफारिसमा नगरकार्यपालिकाले निर्णय गर्नेछ ।

यसैबीच मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७९÷८० का लागि नगर विकास योजना पुस्तक सार्वजनिक गरिएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले सो पुस्तक सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्व ४८ करोड ४३ लाख ६६ हजार ४ सय ५८ रुपैयाँको बजेट नगर विकास योजना पुस्तकमार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्