झापा, साउन १७ । पक्राउ पूर्जी जारी गरिएका दमकस्थित हिमशिखर टेलिभिजनका समाचार प्रमुख भूमिराज पराजुली आफै उपस्थित हुन काठमाडौं गएका छन् ।

वैदेशिक रोजगार कसुर मुद्धामा पक्राउ पूर्जी जारी गरी उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई वैदेशिक रोजगार विभागले पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पक्राउका लागि इलाका प्रहरी कार्यालय दमकलाई सर्कुलर जारी गरेको थियो । दमक प्रहरीले पक्राउ गर्न जाँदा उनी आफै उपस्थित हुन काठमाडौं गइसकेको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकले उजुरीकर्ताहरुलाई पनि वैदेशिक रोजगार विभाग काठमाडौं जान प्रहरीले भनिसकेको जानकारी दिए ।

पत्रकार पराजुलीले झापासहित विभिन्न जिल्लाका १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको विभागमा उजुरी परेको छ । वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको र उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो ।

पत्रकार पराजुलीले युरोप मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले उजुरीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्