झापा , साउन १९ । जापानी भाषा र सीप परिक्षा उत्तीणर् गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उत्तीणर्लाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै विहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्तर्गत कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमाणर्, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परीक्षा उत्तीणर् भएका नेपालीले काम गर्ने अवसर पाउनेछन् । दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच वर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बीचमा अनौपचारिक सहमति भएको थियो । गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो । कोरोना महामारीका कारण झन्डै ३ वर्ष अड्किएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापानबीच संयुक्त बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्