झापा , साउन २२ । लिम्बूवान राज्य घोषणाका लागि दबाब दिन आह्वान गरिएको लिम्बूवान बन्दको पाँचथर र ताप्लेजुङमा सामान्य प्रभाव परेको छ ।

अरुण पूर्वलाई लिम्बूवान राज्य घोषणाको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी किरात, लिम्बूवान, खम्बुवान प्रदेश परिषद्ले बन्दको आह्वान गरेको हो । पार्टीले अपिल जारी गरेर बजार पसल, यातायात, शैक्षिक संस्था, कलकारखाना, उद्योग बन्दको घोषणा गरेको थियो । पाँचथर र ताप्लेजुङमा बन्दको सामान्य प्रभाव परे पनि अन्य जिल्लामा प्रभाव शून्य छ । पाँचथर र ताप्लेजुङबाट लामो दूरीका सवारीसाधन सञ्चालन नभएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यी दुई जिल्लामा छोटो दूरीका सवारीसाधन भने चलिरहेका छन् । बजार, पसल खुला रहेको जनाइएको छ । अन्य जिल्लामा बन्दको प्रभाव परेको छैन । प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीनराज राईले यातायात, बजार, उद्योग कलकारखाना निर्वाध रूपले चलिरहेको जानकारी दिए । उनका अनुसार बन्दको पूर्वघोषित कार्यक्रम रहेकाले सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँठाउँमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको राईले बताए । राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बूवान राज्य घोषणाको माग गर्दै २०६६ सालदेखि प्रत्येक वर्ष साउन २२ गते लिम्बूवान बन्दको आह्वान गर्ने गरेको छ । यस दिनलाई लिम्बूवान गुमेको कालो दिनका रूपमा मनाउँदै बन्द र विरोधको कार्यक्रम गर्ने गरिएको हो। विक्रम संवत २०१८ सालको लिम्बूवान र गोर्खाबीच भएको तम्रपत्र सन्धिलाई लत्याउँदै २०१८ साल साउन २२ गते लालमोहर सन्धिमार्फत लिम्बूवान राज्यलाई वृहत नेपालमा गाभिएको दाबी पार्टीको छ । यसकै विरोधमा प्रत्येक वर्ष साउन २२ गते बन्दको आह्वान गरिँदै आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्