झापा , साउन २३ । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो । रातिको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइलसहित खाँदबारी नगरपालिका १० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको हो । त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित सङ्खुवासभाको पाँचखपन नगरपालिका २ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो । त्यसैगरी जेठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित सङ्खुवासभाको खाँदबारी नगरपालिका ७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका ३ का २८ वर्षीय उपेन्द्र तामाङ पक्राउ परेका हुन् । त्यस्तै भोजपुर बजारमा पार्किङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइकल चोरी गर्ने खाँदबारी नगरपालिका १ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूले सङ्खुवासभाका दुर्गम ठाउँमा लगेर नम्बरप्लेट तथा पार्टपुर्जा परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । चोरीका मोटरसाइकल २५ हजारदेखि ७० हजारसम्ममा बिक्री गरेको पाइएको उनको भनाइ छ । प्रहरीले मोटरसाइकल किन्ने तथा पूर्जा परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाई समेत नियन्त्रणमा लिएको छ । चोरीको योजना बनाउने मुख्य योजनाकार बमबहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भइरहेको प्रमुख राईको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्