झापा , साउन २३ । नेकपा एमालेसंग गठबन्धन गरेर यसपटक फेरि झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिरुद्ध एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाई खरो उत्रिएका छन् ।

दुई दिनअघि राप्रपा सकियो भन्दै कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष तथा राप्रपाका केन्द्रीय सदस्य अन्जार आलम एमालेमा प्रवेश गरेको अफवाह फैलाएका प्रसाई यतिखेर राप्रपासंगै राप्रपा अध्यक्ष लिङ्देनको छवि बिगार्न उद्धत देखिएका हुन् ।
झापा क्षेत्र नं ३ बाटै प्रतिनिधिसभा सदस्य उठ्ने इच्छा राखेका प्रसाईले केही दिनदेखि लगातार राप्रपा र राप्रपाका अध्यक्ष लिङ्देनको नकारात्मक टिप्पणी गर्दै आइरहेका छन् । अन्जार आलमले केपी ओलीसंगको भेटघाटमा खिचेको तस्वीरलाई प्रोपोगान्डा मच्चाउँदै प्रसाईले दुई दिनअघि आलम एमालेमा प्रवेश गरेको भ्रामक प्रचार गरेका थिए । त्यसलाई आलम र लिङ्देनले खण्डन गरेको भोलिपल्ट प्रसाईले सामाजिक संजालमा आफ्नो भिडियो हालेर लिङ्देनको तीब्र विरोध जनाएका छन् ।
उनले भिडियोमा भनेका छन् ‘देश र विदेशमा रहनु भएका मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरुलाई म के जानकारी गराउन चाहन्छु भने राप्रपाका अध्यक्ष हाम्रा दाई राजेन्द्र लिङ्देनको झुटो कुरामा झुटो प्रलोभनमा तपाईहरु नपर्नु होला । किनभने उहाँ गणतन्त्र विरोधी अभियानमा हिड्नु भएको छ र गणतन्त्रमै सांसद हुुुुनु भएको छ । यदि राजा चाहिएको हो भने उहाँले जंगलमा , सडकमा बसेर आन्दोलन गरेर राजालाई स्थापित गराउनु नि । सदनमा बसेर उहाँको माग पुरा हुने छैन र उहाँलाई हाम्रो पार्टीले अब सहयोग गर्दैन । किनकि ५ वर्ष अगाडी संघीय निर्वाचनमा हाम्रो पार्टीले सहयोग गरेर उहाँलाई संसदमा पु¥यायो । र, उहाँले के गर्नु भयो भन्दा जतिखेरै गणतन्त्रविरुद्ध लडाई लड्नु भयो । साथै उहाँ गणतन्त्र चाहिदैन भन्नुहुन्छ र त्यही गणतन्त्रमा सांसद बन्छु भनेर ‘अहिले के.पी. ओलीसंग मेरो कुरा भईसकेको छ । अब फेरि हाम्रो गठबन्धन हुन्छ । तपाईले मलाई नै भोेट हाल्नुपर्छ । राप्रपालाई , हलोलाई नै भोट हाल्नुपर्छ ’भन्दै हिड्नु भएको छ । यो अब कदाचित हँुदैन । यस क्षेत्रका आम दाजुभाइ तथा दिदीबहिनीहरुलाई म के भन्छु भने अब हाम्रै सूर्य चिन्हमा हामीले भोट हाल्ने अवसर पाउँछौ । ३ नं क्षेत्रमा कर्मठ , विकासप्रेमी , नढाट्ने , सहि मान्छे पार्टीले उम्मेदवार घोषणा गरेर पठाउँछ । तपाईहरु प्रतिक्षा गर्नुहोस् । गठबन्धन राजेन्द्र दाईको लागि हो । गठबन्धन एमालेको लागि होईन । त्यसैले एमालेका उम्मेदवारलाई गठबन्धन आवश्यक छैन ।’
केही दिनअघि झापा क्षेत्र नं ३ का सांसद लिङ्देनले फेरि पनि आफू त्यही क्षेत्रबाट उठ्ने बताएका थिए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसंग गठबन्धन गरेर चुनाव जितेका सांसद लिङ्देनले यस पटक पनि एमालेसंग गठबन्धन गरेर निर्वाचनमा जाने संकेत दिएका छन् ।
एमालेसंग गठबन्धन गरेर लिङ्देनले झापा क्षेत्र नं ३ मा चुनाव लड्ने अवसर पाए प्रसाईको चुनाव लड्ने सपना चकनाचुर हुने भएको छ । उनले आगामी मंसिर ४ गते घोषित प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं ३ मा लाखौं खर्च गरिसकेका छन् । त्यही भएर प्रसाई लिङ्देनप्रति आक्रोशित देखिएको विश्लेषण गरिएको छ । उट्पयाङ बोली र व्यवहारले बारम्बार विवादमा परिरहने प्रसाईको हर्कतका बारेमा लिङ्देनले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।