झापा , साउन २५ । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छन्।
![](https://pratidindaily.com/wp-content/uploads/2022/08/school-1-1024x550.jpg)
प्रहरीका अनुसार विद्यालयको तीन तलामाथिबाट खसेर बुधबार बिहान कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी घाइते भएकी हुन् । उनको घर सप्तरीको बोदेवरसाइन गाउँपालिका-३ हो। सुन्दरहरैँचा-१२ का भोला खतिवडाको घरमा डेरा बसेर उनी सो विद्यालयमा अध्ययन गर्थिन्। प्रहरीले बिहान ८ बजेतिर घटनाको जानकारी पाएको हो । विद्यालय भवनको तीन तलामाथिबाट बिहान ६ः१५ बजेतिर आफैँ हामफालेर घाइते भएको जानकारी प्रहरीलाई विद्यालयले दिएको थियो । घाइते छात्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेकी उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । अनुसन्धानपछि मात्रै छात्रा आफैँले हामफालेको हो कि अचानक घटना भएको हो भनेर यकिन हुने उनले बताए ।