बिर्तामोड, साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार भीमा शिवाकोटीलाई प्रदान गरेको छ ।

२०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाका पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाका अध्यक्ष हुन् । पुरस्कारको राशी २५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ ।

त्यसैगरी उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्वाददाता विष्णुकुल श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बू पुरस्कृत भएका छन् । सो पुरस्कारको राशी जनही ५ हजारसहित प्रशंसापत्र रहेको छ ।
२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी पाण्डे, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजवंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।
त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलाम शाखाले पत्रकार सटेन्द्र जवेगुलाई पुरस्कृत गरेको छ ।

उक्त आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका जवेगुलाई फोनिजको २३ औं स्थापना दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिएको हो ।
सम्मानित पत्रकार जवेगुले संस्थाको आर्थिक कोष वृद्धिका लागि नगद राशी संस्थाकै अध्यक्ष राम योङहाङलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा पत्रकार ख्याम भुजेल, कुमार गुरुङ, अशोक लिम्बु र सुमन लावती सम्मानित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्