झापा , साउन ३१ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजबाट सुरु हुने भएको छ ।
’एक्स व्यालेन्स नेल २२-५५३०’ नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ’एक्स व्यालेन्स नेल २२-५५३०’ विगत सरह नै यस वर्ष उनन्चालीसौं संस्करण हुन लागेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेन्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छन् । नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम र अभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निणर्य प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्रीसहित हिजो नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।




