झापा, भदौ २ । मोरङको सुनवर्षी नगरपालिका-९ मा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।

बुधबार राति १२ बजेतिर सर्पले टोक्दा सुनवर्षी-९ डाइनियाका २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो । रातको समयमा बाहिरबाट घर फर्कने क्रममा सिंहको खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन । प्रहरीका अनुसार घरनजिकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर उनले परिवारमा जानकारी गराएका थिए । त्यसलगत्तै आमाले उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार शव रंगेली अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।



