धर्मेन्द्र मामा,
बिर्तामोड भदौ ३ । नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले दुईदिने क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

संस्थाको केन्द्रीय कार्यालय चारपानेको सभाहलमा संचालन भएको गोष्ठीमा संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय उपसमिति संयोजक, सेवाकेन्द्र संयोजक र उच्च पदस्थ कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको थियो।

गोष्ठीलाई प्रमुख प्रशिक्षक नेफ्स्कूनका पूर्व संचालक कुवेर निरौलाले सहजीकरण गरेका थिए भने सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले पनि सह–प्रशिक्षकको भूमिका निभाएका थिए । गोष्ठीमा सहकारी संस्थाको आधारभूत सिद्धान्त, संचालक समितिको काम कर्तव्य अधिकार, लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य अधिकारका बारेमा जानकारी गराइएको थियो।

यसैगरी संस्थाको आन्तरिक व्यवस्थापन, सहकारी सिद्धान्त र मूल्य, संस्थागत सुशासनको अवधारणा, सहकारीमा नियमन र सम्पत्ति शुद्धिकरण निवारण र ऋण लगानी व्यवस्थापनसम्बन्धी ब्यापक चर्चा र बिश्लेषण गरिएको लेखा संयोजक उपेन्द्र ओलीले बताए । सोही क्रममा संस्थाको वित्तीय अवस्थाको बारेमा सहनिर्देशक ईश्वरप्रसाद भट्टराईले जानकारी दिएका थिए । सहभागीबाट उठेका जिज्ञासाहरु कार्यकारी निर्देशक गिरी, निर्देशक लक्ष्मण खतिवडा र उपनिर्देशक दिनेशबहादुर निरौलाले जवाफ दिएका थिए ।

दुईदिने गोष्ठीको उद्घाटन गर्दै संचालक समितिका अध्यक्ष हरिबहादुर राजवंशीले संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त राखिनुपर्नेमा जोड दिँदै गोष्ठीबाट संस्था संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सहभागी धर्मेन्द्र भट्टराई , भिमबहादुर खवास, विन्दु श्रेष्ठ, लोकबहादुर रोका , पदम भट्टराई, लक्ष्मी आचार्य, मोहन ओलीलगायतले प्रतिवेदन तथा समूहकार्य प्रस्तुत गरेको कार्यक्रमको संचालन मातृका सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्