झापा, भदौ ७ । झापा क्षेत्र नं २ मा उठ्ने उम्मेदवार नभएपछि नेपाली कांग्रेसले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलाई उठाउने भएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले हेभीवेटका उम्मेदवार बुढाथोकीलाई अगाडि सार्ने भएको हो । प्रदेश सभापति उद्धव थापा , पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र केन्द्रीय सदस्य सरिता प्रसाईमध्ये कोही पनि उम्मेदवारी दिन इच्छुक नभएपछि कांग्रेसले बुढाथोकीलाई उठाउन लागेको पार्टी स्रोतले जनाएको छ ।

एमालेबाट उठ्न लागेका संभावित उम्मेदवारहरु अग्नि खरेल वा देवराज घिमिरेलाई बुढाथोकीले मात्र टक्कर दिन सक्ने पार्टीको ठहर छ । त्यसो त अहिलेसम्मको चुनावी परिणामलाई हेर्दा झापा क्षेत्र नं २ मा धेरै पटक एमालेले जितेको छ ।

त्यस्तै आगामी प्रदेशसभा निर्वाचनमा क्षेत्र नं २ को ‘क’ मा गठबन्धन दल माओवादीका उम्मेदवारलाई उठाइने भएको छ । आदिवासी जनजातिको बसोबास बढी भएकाले सोही समुदायको उम्मेदवारको खोजी भइरहेको बताइएको छ । क्षेत्र नं २ ‘ख’मा भने कांग्रेसका प्रदेश सभापति उद्धव थापा उठ्ने चर्चा छ । यसअघि अघिल्लो निर्वाचनमा उनी प्रतिनिधिसभा निर्वाचनमा उठेर उपविजेता बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्