बिर्तामोड, भदौ १० । सैनिकमोड वरपर स्थानीय मन्दिरहरूमा सूर्यनारायण राजवंशीले झुण्ड्याइदिएको घण्टी बज्छ । उनले त्यस क्षेत्रका धेरै मन्दिरहरुलाई घण्टी दान दिएका छन् ।

‘दुईवटा घन्टी किनेर राखेको छु। कति बेला कुन मन्दिरबाट घण्टी राखिदिन अनुरोध आउँछ थाहा हुँदैन । त्यो बेला किन्न जान भ्याइदैन, घरमै ल्याएर राखेको छु ’ सूर्यनारायण भन्छन् । स्थानीयले मन्दिरमा केही सहयोग गरिदिन आग्रह गर्दा उनीे घण्टी नै सहयोग गर्छन्। स्थानीय मन्दिरहरूमा घण्टी झुण्ड्याइदिँदा सूर्यनारायणको खुशीको सीमा रहँदैन । हुन पनि हो, हाम्रो समाजमा मन्दिर एउटाले निर्माण गर्छ त्यसपछि अन्य थप सहयोगहरु अरुहरुले नै गरिदिन्छन् । यसै क्रमलाई निरन्तरता दिँदै आएको सूर्यनारायण बताउँछन् ।

बिर्तामोड–३ सतानुबारी सैनिकमोड निवासी सूर्यनारायण आफूलाई त्यति ठूलो दानवीर दावी गर्दैनन् । समाजलाई सानो सहयोग गर्ने इच्छा राखेका सूर्यनारायणले कतिपय मन्दिरमा आफैले पनि प्रस्ताव गरेर घण्टी लगाइदिएका छन् । आफू बसोबास गरेको स्थान वरपरका मन्दिरहरुमा ०६४ सालदेखि घण्टी झुण्ड्याउने कार्यमा उनी अग्रसर छन् ।

०६४ सालमा सतानुबारी सैनिकमोडको गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानभित्रको हनुमान, राधाकृष्ण, शिव मन्दिर प्रत्येकमा १–१ वटा घण्टी राखिदिएका थिए। त्यो उनको मन्दिरमा पहिलो घण्टी दान थियोे । त्यसपश्चात् क्रमशः उनले विश्व हिन्दु महासंघको विराटपोखरीस्थित ज्योतिर्लिङ्ग पाञ्चायन पंचमुखी शिव मन्दिर, देवी पाञ्चायन काली मन्दिर बिर्तामोड–९ नरियावारी, ग्रामकाली मन्दिर बिर्तामोड–३ आफन्तटोलमा घण्टी दिएका छन्। आफ्नो सानो प्रयासले मन्दिरहरूमा घण्टी झुण्ड्याईदिने उनको यो ईच्छा बढ्दै जाँदैछ । अन्य मन्दिरहरुबाट पनि यस्तो प्रस्ताव आईरहेको पनि उनी सुनाउँछन् । आफू सो कार्यमा तत्पर रहेको उनको भनाई छ ।

विश्व हिन्दु महासंघ झापा शाखाका अध्यक्ष मोहन उप्रेतीले सूर्यनारायणको सहयोगको प्रशंसा गरेका छन् । त्यस्तै गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानका कोषाध्यक्ष रणबहादुर राजवंशीले पनि सूर्यनारायणले देखाएको सामाजिक सद्भाव प्रशंसनीय रहेको बताए । उनलाई विश्व हिन्दु महासंघको कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष उप्रेतीले बताए। त्यसैगरी देवी पाञ्चायन मन्दिर र ग्रामकाली मन्दिरको तर्फबाट पनि सूर्यनारायणलाई सम्मान गरिएको थियो । त्यति मात्र होइन, उनले अन्य धार्मिक कार्यमा पनि सहयोग गरेका छन् ।

धर्मकर्ममा घण्टीको ठूलो महत्व हुन्छ । मन्दिरहरूमा घण्टी झुण्ड्याउने, घण्टीको आवाज सुनाउने प्रचलन आदिकालदेखि चलेकोे हो । यसमा बिभिन्न धार्मिक तथा बैज्ञानिक कारणहरु छन् । देवीदेवताको मन्दिरहरूमा दर्शन गर्न जानेले सर्बप्रथम घण्टी बजाउने धार्मिक चलन छ ।
६५ वर्षका सूर्यनारायण श्रीमती उमा राजवंशीसित सैनिक बजार जाने सडकमा सामान्य चिया नास्ताको होटल संचालन गरी जीविकोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्