भद्रपुर, भदौ १० । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापामा जारी प्रतियोगिताबाट शुक्रबार पनि विभिन्न खेलका खेलाडी छनोट भएका छन् ।

आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार शुक्रबारसम्म लगभग सबै खेलको नतिजा आइसकेको छ । प्राविधिक कारणले केही खेलका विवरण अद्यावधिक गर्न बाँकी रहेको आयोजकले जनाएको छ ।
शुक्रबार करातेअन्तर्गत कुमुतेतर्फका खेलाडी छनोट भएका छन् । करोतका खेल संयोजक तथा प्रशिक्षक कालु मेचेका अनुसार पुरुषतर्फ युनिष आङदेम्बे, अरुणकुमार लिम्बू, सन्देश मगर, सन्दीप श्रेष्ठ, विक्रम मेचे, सुमन चिमरिया र लक्ष्मण विश्वकर्मा छनोट भएका छन् भने महिलातर्फ सुविक्षा राई, लीला श्रेष्ठ मथुरादेवी तामाङ, सारु मगर, अस्मिता कार्की, मेनुका मगर र एलिजा घिमिरे छनोट भएका छन् ।
त्यस्तै, तेक्वान्दोमा सिंगल पुम्सेमा पुरुषतर्फ मौसम आचार्य र महिलातर्फ शिवानी बानियाँ, डबल पुम्सेमा विवेक गिरी र शिवानी बानियाँ, समूह पुम्सेमा शिवानी बानियाँ, विवेक गिरी र भविनचन्द आचार्य छनोट भएका छन् । ग्यारिगी पुरुषतर्फ नितेशकुमार चम्लागाईं, एलिश ठकुरी, सिजन बुढाथोकी, अरुण डाँगी र श्याम धिमाल तथा महिलातर्फ अनुज्ञा सापकोटा, वर्षा दर्नाल, अनिशा शर्मा, जेसिका विश्वकर्मा र सविना लिम्बू चयन भएको प्रशिक्षक जितेन्द्र मेचेले जानकारी दिए ।
यसैगरी आर्चरीको रिकर्भ ३० मिटरमा पुरुषतर्फ साजन सुब्बा, वेदन राई, सञ्जय राई, मोहन मर्डी र जेम्स श्रेष्ठ छनोट भएका छन् भने महिलातर्फ योगिता काम्बाङ, गंगा तुम्बापो, ममता राई, स्मृति उप्रेती जयेश श्रेष्ठ छनोट भएको आर्चरीका कोच गंगाा खड्काले जानकारी दिए ।
शुक्रबार सञ्चालन गरिएका खेलहरुको शुभारम्भ झापा जिल्ला खेलकुद समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ र उपाध्यक्ष गंगा कोइरालाले संयुक्त रुपमा गरेका थिए । अध्यक्ष भण्डारीले सीमित साधन–स्रोतका बावजुद जिल्लास्तरीय छनोट प्रतियोगिता निकै मेहनतका साथ व्यवस्थित ढंगले सञ्चालन गरिएको हुँदा समितिले खेलाडीबाट प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गरेको बताए ।
छनोटमा परेका खेलाडीलाई एक कार्यक्रमका बीच प्रमाणपत्र र जर्सी वितरण गरिने र प्रदेश प्रतियोगितामा पठाइने समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।