मेचीनगर, भदौ १२ । एक नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को जस्तै एक्सनमा काम गर्न मेचीनगरका मेयरलाई आग्रह गरेका छन् ।

शनिबार मेचीनगर-६ स्थित मेची सामुदायिक हलमा आयोजित कार्यक्रममा काँकरभिट्टाको टर्मिनल, प्यारीभिट्टाको बसपार्क, फुटपाथका पसल, नाकामा सिटी रिक्साको जाम, पार्किङलगायत समस्याका विषयमा एक्सनमा काम गर्न उनले मेयर गोपालचन्द्र बुढाथोकीलाई अनुरोध गरेका हुन् ।
मेयर बालेनले जसरी कानूनअनुसार एक्सन लिए, त्यसरी नै नगरपालिकाले कार्यविधि बनाएर यी समस्याहरु समाधान गर्न सांसद मैनालीले सुझाव दिएका छन् ।
मेची पुलमा सिटीरिक्सालगायतको भिडभाड, काँकरभिट्टा टर्मिनल, फुटपाथ पसल, प्यारीभिट्टाको बसपार्क, होटल र बसमा मान्छे तान्ने, विदेशी पर्यटकलाई नाकामा गर्ने दुव्र्यवहारलगायतका विषयमा अन्यले पनि मेयर बुढाथोकीको ध्यानाकर्षण गराएका थिए । मेचीनगर नगरपालिकाले आयोजना गरेको छलफलमा कसले के भने ?
मेची पुल २ नम्बरीको कब्जामाः पूर्व मेयर आचार्य
मेचीनगरका पूर्व मेयर विमल आचार्यले व्यापार गर्न काँकरभिट्टा नाका सहज नभएकाले आफैले पनि भारतको गलगलियाको बाटो प्रयोग गर्न थालेको बताए । लागूऔषध, चेलीबेटी बेचविखनलगायत थुप्रै खालका तस्करीका कारण नाका विग्रिएको उनको भनाई छ । गाँजा, ड्रग्स्, हिरोइनलगायतका अवैध सामान यो नाकाबाट सहज आउने गरेको उनले बताए ।
‘मेची पुलमा २ नम्बरीहरुले कब्जा गरेको अवस्था छ’, पूर्व मेयर आचार्यले भने-‘सार्वजनिक बाटोमा कुनै पनि गाडी पार्किङ गरेर राख्न पाइँदैन । सिटी रिक्सालगायत साना गाडीहरुको कार्यविधि बनाएर सञ्चालन गरिनु पर्छ । यसका लागि नगरपालिकाले उच्चस्तरीय समिति बनाउन आवश्यक छ ।’
भन्सारको चेकपोष्ट कानेखुसी सेन्टरः डीएसपी महतो
काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोले मेची भन्सारको चेक गर्ने ठाउँ कानेखुसी सेन्टर भएको बताए । ड्रग्स् कन्ट्रोल गर्न सेवनकर्तालाई दुवागढीको होल्डिङ सेन्टरमा राखेर उपचार गर्न उनले आग्रह गरे ।
बसपार्कमा राखिएको यात्रु प्रतिक्षालयको बेन्च होटल र पसलतिर लगेर राखेको उनले आरोप लगाए । होटलमा राखिएको अवस्थामा बेन्च भेटिएपछि फेरि यात्रु प्रतिक्षालयमा ल्याउने काम भएको उनको भनाई छ ।
दातृ निकायबाट सहयोग मागौँः माओवादी नगर अध्यक्ष चिमरिया
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले दातृ निकायबाट अर्वको लगानी लिएर यी सबै समस्या समाधानमा लाग्न नगरपालिकालाई सुझाव दिएका छन् ।
८० प्रतिशत मान्छे बाहिरबाट आएर तस्करी ः एमाले नेता आचार्य
नेकपा एमालेका नेता सुशिल आचार्यले यस नगरमा ८० प्रतिशत मान्छे बाहिरबाट आएर यहाँ व्यापारको नाममा तस्करी गरिरहेको दावी गरेका छन् । अवैध धन्दा सञ्चालन गर्नेहरुलाई निरुसाहित गर्न काँकरभिट्टाबासीहरु जागरुक हुनुपर्ने उनले बताए ।
बसपार्कमा फेरि थपिए फुटपाथ पसल ः मजदुर संघ अध्यक्ष तामाङ
नेपाल यातायात मजदुर संघका नगर सभापति विशाल तामाङले बसपार्कमा फेरि फुटपाथ पसलहरु थपिन थालेकोमा चिन्ता व्यक्त गर्दै यसमा नगरपालिकाले ध्यान दिन जरुरी रहेको बताए ।
बसपार्कमा राजनीति भयो ः कांग्रेस नेता बुढाथोकी
नेपाली कांग्रेस क्षेत्रीय सहसचिव सुरेन्द्र बुढाथोकीले बसपार्कमा राजनीति भएको बताएका छन् । उनले काँकरभिट्टा टर्मिनलको व्यवस्थापन र प्यारीभिट्टा बसपार्कलाई सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेका छन् ।
अल्पकालीन र दिर्घकालीन योजना बनाऊँ ः समाजसेवी घिमिरे
समाजसेवी डिल्लीराम घिमिरेले यी सबै समस्याको समाधान गर्न अल्पकालीन र दिर्घकालीन योजना बनाएर अघि बढ्न नगरपालिकालाई सुझाव दिएका छन् ।
मिनी मार्केटमा व्यापारिक भवन बनाऊँ ः जसपा नेता गुरुङ
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले मिनी मार्केटमा व्यापारिक भवन बनाएर त्यहि पार्किङको व्यवस्था गर्न नगरपालिकालाई सुझाएका छन् ।
लाहुरेहरु यो नाकाबाट आउन छाडे ः यातायात व्यवसायी थापा
यातायात व्यवसायी प्रविण थापाले पार्किङको समस्या समाधान गर्न सबैले पहल गर्नुपर्ने बताए । बसपार्कमा एउटा पनि यात्रु प्रतिक्षालय नभएको उनले बताए । नाकामा समस्या भएकै कारण विगतमा भारतबाट विदामा हुलका हुल आउने लाहुरेहरु अहिले आउन छाडेको उनको भनाई छ ।
नाकामा झोले बैँकहरु छ्याप छ्याप्ती ः मजदुर नेता तिम्सिना
मजदुर नेता एकराज तिम्सिनाले मनिचेञ्जर, होटल, ट्राभल, सिटी रिक्साहरु बसपार्कमा अव्यस्थित रुपमा सञ्चालन भएकाले नियमकारी निकायको ध्यान जान जरुरी रहेको बताए । उनले नाकामा मनिचेञ्चरहरु भन्दा पनि झोले बैँकहरु छ्याप छ्याप्ती रहेको बताए ।
सिटी तथा अटो रिक्साहरुको मापदण्ड आवश्यक ः सिटी रिक्सा संघका अध्यक्ष चौहान
सिटीरिक्सा तथा अटो संघका नगर अध्यक्ष गणेश चौहानले नगरपालिकाले सिटीरिक्साको मापदण्ड बनाउन जरुरी रहेको बताए । उनले भारत र नेपालको प्रशासन तथा नगरपालिकाको सहकार्यमा समस्या समाधान गर्न सकिने धारणा राखेका छन् ।
बसपार्कमा मान्छे तान्नेको विगविगी ः ट्राभल संघका अध्यक्ष कार्की
ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले बसपार्कमा मान्छे तान्नेको विगविगी रहेको बताए । पुलमा सिटी तथा अटो रिक्साको स्टेण्ड भएकोमा दुःख व्यक्त गरे ।
सिस्टम लागु गर्नसके समाधान ः होटल संघ अध्यक्ष श्रेष्ठ
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले पूर्वी नाका काँकरभिट्टाको समस्यालाई सिस्टममा लानसके समाधान हुने बताए ।
मेची पुल र बसपार्क अस्तव्यस्त ः मेची बस व्यवसायी संघ अध्यक्ष श्रेष्ठ
पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठले बसपार्क, मेची पुल र बसपार्क अस्तव्यस्त रहेको बताए । उनले यसलाई रोक्न नगरपालिकाले दण्ड, जरिवाना गरेर भएपनि समस्याको समाधान निकाल्न अब ढिलो नगर्न सुझाव दिएका छन् ।
बसपार्कमा बहुतलीय व्यापारको अवधारणा ः मेयर बुढाथोकी
मेयर बुढाथोकीले बसपार्कको समस्या ३० वर्ष अघिदेखिको रहेको बताए । उनका अनुसार यसको कार्यान्वयनका लागि सरोकारवालाको सहयोग आवश्यक छ । यी तमाम विषयलाई सूचीकृत गरेर अघि बढिने उनले बताए ।
‘बसपार्क आसपास बहुतलीय व्यापारको अवधारणा ल्याएका छौँ’ मेयर बुढाथोकीले भने-‘बहुतलीय भवनमा गाडी पार्किङदेखि व्यापारका पसलहरु हुने छन् । त्यसका लागि लगानी बोर्डमा प्रस्ताव गरेका छौँ ।’