दमक, भदौ १२ । दमक नगरपालिका वडा नम्बर ४ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जाको निस्सा वितरण गरिएको छ ।

स्थानीय दाहाल प्रतिष्ठानको सभाहलमा आइतवार एक कार्यक्रमको आयोजना गरी दमक नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले वडाभित्र रहेका भूमिहीनहरुलाई धनीपुर्जाको निस्सा वितरण गरेका हुन् ।

दमक वडा नम्बर ४ का वडा अध्यक्ष पुण्य दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख थापाले आफूहरु निर्वाचित भएर आएदेखि नै पहिलो प्राथमिकतामा राखेर भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराउने काममा लागेको बताए । निर्वाचनताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहि दिनमै धनीपुर्जा समेत उपलब्ध गराईने उनले बताए । अघिल्ला जनप्रतिनिधिले यसमा कुनै काम नगरेकाले केहि समय लागेको भन्दै नगरप्रमुख थापाले अब द्रुत गतिमा काम हुने बताए ।

त्यसैगरी उपप्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागिपरेको बताइन् । प्राबिधिक कामले केहि ढिलाई भए पनि आगामी संघीय निर्वाचनअघि नै धनीपुर्जा उपलब्ध गराउने गरी आफूहरुले काम गरिरहेको उनले बताइन् । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका झापा जिल्ला अध्यक्ष तिलकसिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनीपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं, दमक ४ का पूर्व वडाध्यक्ष कुमार साम्सोहाङले आयोगको काम अघि बढाउन सक्दो सहयोग गर्ने बताए ।

वडाभित्र हालसम्म दर्ता रहेका ४५० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जाको निस्सा वितरण गरिएको वडा सचिव अस्मिता खनालले जानकारी दिइन् । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्