झापा, भदौ १२। सरकारले निषेध गरेपनि झापाको अर्जुनधारामा नदीजन्य पदार्थको उत्खनन् रोकिएको छैन ।

प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न सवारीसाधनलाई नियन्त्रणमा लिएर कार्वाहीका लागि नगरपालिकामा बुझाउने गरेपनि सवारीसाधनले टेरेका छैनन् । ६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको साता दिन नबित्दै प्रहरीले आइतवार फेरि तीनवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

आइतवार साँझ ५ बजे अर्जुनधारा वडा नं.७ फुलमति खोलाबाट मे.१ त.५९०६, मे.१ त.५२९२ नं.को ट्रयाक्टरहरु र वडा नं १ को नेते खोलाबाट मे.१ त.४८४० नं.को ट्रयाक्टर गरी जम्मा ३ वटा ट्रयाक्टरहरुले अबैध रुपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो । ती सवारीसाधनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गत मंगलवार अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका ६ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गरी ढुवानी गरिरहेका दुईवटा टिपर र चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । निषेध गरेकै समयमा विरिङ नदीमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्रयाक्टर र टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।

सरकारले असार १ गतेबाट भदौ मसान्तसम्म खोला तथा नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध लगाएको छ । तर, अर्जुनधारामा नदीजन्य पदार्थको उत्खनन् जारी छ । प्रहरीले नियन्त्रणमा लिने र नगरपालिकाले सामान्य जरिवाना तिराएर छाड्ने क्रम चलेसम्म अर्जुनधारामा उत्खनन् नरोकिने एक स्थानीयले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्