झापा, भदौ १३ । क्षतिपूर्ति बापतको रकम तिर्न नसक्दा साउदीको जेलमा रहेका दिनेश कार्कीलाई छुटाउन सरकारी तवरबाट पहल सुरु भएको छ ।

क्षतिपूर्ति बापतको रकम तिर्न नसक्दा साउदीमा जेल जीवन बिताइरहेको समाचार सरोकारवाला पक्षको ध्यानाकर्षण भएको हो । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा धनकुटाका नेता हेमराज भण्डारीको अगुवाइमा दिनेशका आमा दुर्गाकुमारी कार्कीले धनकुटा नगरपालिका अन्तरगतको आप्रवासी स्रोत केन्द्रमा छोरा छुटाउन पहल गरिदिन भन्दै आइतवार निवेदन दिएकी थिइन्। लगत्तै सरकारी तवरबाट पहल सुरु भइसकेको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । माओवादी नेता भण्डारीको साथमा दिनेशकी आमा दुर्गाकुमारी आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेकी थिइन्। माओवादी नेता भण्डारीले जतिसक्दो चाँडो दिनेशलाई जेलबाट छुटाएर नेपाल फर्काउन पहल गर्ने बताए । दिनेशकी आमा आइतबार नै फलामेटारबाट धनकुटा सदरमुकाम आएकी थिइन्। यता प्रमुख जिल्ला अधिकारी कटेलले आप्रवासी केन्द्र मार्फत साउदी दुतावाससँग समन्वय गर्ने बताए । पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इण्डष्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा पुगेका थिए। कम्पनीले श्रम सम्झौताअनुसारको सेवा सुविधा नदिएपछि उनी बाहिरै अवैध रूपमा काम गर्ने सिलसिलामा सवारी साधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट पक्राउ परेका थिए । साउदीको प्रशासनले तोकेको ५७ हजार रियाल क्षतिपूर्ति बापतको जरिवाना तिर्न नसक्दा १३ महिनादेखि जेल जीवन बिताइरहेका छन्।

आर्थिक सहयोग जुट्दै
जेलबाट छुटाउन कार्कीका परिवारलाई आर्थिक सहयोग जुट्न थालेको छ । दिनेशकी आमा दुर्गाकुमारी कार्कीको माछापुच्छ्रे बैंक धनकुटामा रहेको खातामा स्वेछिक रूपमा रकम संकलन हुन थालेको हो । अहिलेसम्म २९ हजार रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्