बिर्तामोड,भदौ १३ । बिर्तामोड नगरपालिकाले विशेष नगरसभामार्फत ३ वटा विधेयक पारित गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमवार आयोजित विशेष नगरसभाले विधेयक पारित गरेको हो ।
विशेष नगरसभामा आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतले पारित गरेको हो । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए । यस्तै विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेकी थिइन् ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभाकी अध्यक्ष नगरप्रमुख प्रसाईले कानून अत्यन्त आवश्यक भएका कारण विशेष सभाबाट पास गरेको र आजकै दिनदेखि लागु हुने बताइन् । संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नु पर्नेमा उनले जोड दिइन् । ऐन कानून वेगर बनेका कामहरुमा असहजता सृजना भएको बेला कानूनी समस्या आउने भन्दै नगरप्रमुख प्रसाईले कानूनतः काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइन् ।

सभामा बोल्दै वडा नम्बर ६का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर समितिका उपसभापति सूर्यप्रसाद कन्दङ्वाले नगरको विकासको लागि नगरका जनताको हितमा विशेष नगरसभामार्फत विधेयक पास गरेको बताए । ऐनले सबैलाई अनुशासित बाटोमा हिँडाउने भन्दै उनले कार्यान्वयनमा जोड दिए ।बिर्तामोड नगरपालिकाको भदौ १० गते बसेको कार्यपालिका बैठकले पास गरेर सोमवार विशेष नगरसभामा विधेयक प्रस्तुत गरिएको हो । कार्यपालिका बैठकले अस्पताल सञ्चालन कार्यविधि २०७९, अनुगमन समिति सञ्चालन कार्यविधि २०७९, लेखा समिति सञ्चालन व्यवस्थापन कार्यविधि २०७९ र शहरी वस्ती विकास योजना तथा भवन निर्माण मापदण्ड र इजाजतसम्वन्धी कार्यविधि २०७९ पारित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाकी उपसंयोजक शान्ता रोक्काको आतिथ्यता रहेको यस विशेष नगरसभामा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य,वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्