भद्रपुर, भदौ १४ । विगत एक महिनादेखि संचालन भइरहेको भद्रपुर महोत्सवमा गएराति झडप भएको छ ।

आयोजक समितिले खेलाएको हाउजीमा विवाद भएपछि आयोजक र सर्वसाधारणबीच झडप भएको हो ।

झडपमा परी केही घाइते भएका छन् । स्कुटी पुरस्कार रहेको हाउजी खेलमा आयोजकले धाँदली गरेको भन्दै सर्वसाधारणले आपत्ति जनाएपछि विवाद भएको हो । राति ८ बजेसम्म मात्र मेला संचालन गर्न प्रशासनले अनुमति दिएपनि आयोजकले राति ११ बजे पछिसम्म चलाएको थियो । हाउजी खेलमा आयोजक समितिभित्रै पुरस्कार पार्नेगरी धाँदली गरेको आरोप मेला आयोजक समितिलाई शुरुदेखि नै लाग्दै आएको थियो । हाउजी खेलाउँदै गर्दा केही व्यक्तिहरुले मंचमै आएर हुलदंगा गर्न खोजेपछि विवाद भएको आयोजक भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु सहनीले बताए । धाँदली भएको भन्दै सर्वसाधारणले विरोध गर्दा आयोजकले कुटपिट गरेको जनाइएकोमा अध्यक्ष सहनीले आफूहरुले कुटपिट नगरेको दावी गरे । उनले हाउजीमा धाँदली नभएको दावीसमेत गरे ।

मेलामा राति लफडा भएको जानकारी प्रहरीलाई आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।तर, उनले अहिलेसम्म कसैको उजुरी नपरेको र कसैलाई धरपकड पनि नगरिएको जानकारी दिए ।

गत साउन १५ गतेदेखि शुरु भएको मेलाले भदौ १५ गतेसम्मको अनुमति पाएको छ । शुरुमा १५ दिनका लागि अनुमति लिएकोमा पछि जिल्ला प्रशासन कार्यालयबाट थप १५ दिनको अनुमति आयोजक समितिले लिएको थियो । सो मेला बन्द गराउन आफूहरुले प्रशासनलाई आग्रह गरिसकेको डिएसपी पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्