झापा , भदौ १६ । ‘हिन्दीमा डब भएको ‘प्रेम गीत’ नेपालमा शो नदिने भनेर चलचित्र विकास बोर्डले निणर्य गरेको छ रे भन्ने मैले सुनेको छु ।

त्यो हो भने एकदमै दुर्भाग्यको विषय हो’, अभिनेता सरोज खनालले एक भिडियोमा व्यक्त गरेको यो विचार अहिले सामाजिक संजाल टिकटकमा भाइरल छ । भिडियोको विषयलाई लिएर चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र अभिनेता अनमोल केसीमाथि प्रश्न उठाइएको छ । हुन त यस अगाडि पनि ‘प्रकाश’ को शो विवादको दोष समेत केसीलाई नै लगाइएको थियो । उनकै खेलबाट फिल्मका लागि शोमा घटबढ भएको भन्दै सामाजिक संजालमा विभिन्न पोष्ट समेत भएका थिए । ‘प्रकाश’ पछिल्लो समयका स्टार प्रदीप खड्का अभिनीत फिल्म हो । उनी भुवनका छोरा अनमोलको प्रतिस्पर्धी मानिएका छन् । प्रदीपको फिल्म चलेन भने अनमोललाई फाइदा पुग्ने भएकोले भुवनले खेल खेलेको हुन सक्ने कतिपयले अनुमान लगाएका थिए । अहिले ‘प्रेम गीत ३’ को विषयमा पनि त्यही अनुमान गर्न थालिएको छ । अभिनयका हिसाबले पनि प्रदीप अनमोल भन्दामाथि मानिएका छन् । ‘प्रेम गीत ३’ पनि प्रदीप अभिनीत फिल्म पनि हो ।सामाजिक संजालमा ‘प्रेम गीत ३’ को विषयमा फैलिएको हल्लाबारे चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रश्न राखेको थियो । ‘प्रेम गीत ३’ को हिन्दी डब नेपालमा रिलिज नहुने हो र ? केसीले ‘प्रेम गीत ३’ को हिन्दी डब रिलिज हुने नहुने विषयमा बोर्डमा केही निणर्य नभएको बताए । ‘अहिलेसम्म फिल्मको निर्माण पक्षबाट हिन्दी भर्सन रिलिजको विषयमा बोर्डलाई पत्र आएको छैन,’ अध्यक्ष केसीले भने, ‘त्यसैले यो विषयमा म केही भन्न सक्दिन ।’ सामाजिक संजालमा भएको चर्चाको विषयमा आफू अनविज्ञ रहेको भुवनले सुनाए ।‘सामाजिक संजालमा मेरो विषयमा के के कुरो आएको छ । त्यो म जान्दिनँ । म चलचित्र क्षेत्रका लागि काम गर्न आएको हो । त्यो गरेर देखाउँछु,’ भुवनले थपे । यता ‘प्रेम गीत ३’ रिलिज पहिले नेपालीमा र त्यसको एक सातापछि हिन्दीमा पनि नेपालमा लाग्ने निर्माता निर्देशक सन्तोष सेनले बताउँदै आएका छन् । ‘प्रेम गीत ३’ बलिउड र नेपालमा एकसाथ रिलिज हुन लागेको फिल्म हो । हिन्दी भाषामा समेत डब गरिएको यो फिल्म बलिउडमा हिन्दी भाषामा रिलिज हुने भएपनि नेपालमा दुबै भाषामा रिलिज हुने निर्माण युनिटले जनाएको छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीपको अलवा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्