बिर्तामोड , भदौ १८ । नेपाल इङ्गलिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखाले संस्थाका आजीवन सदस्यहरुको लागि एकदिने अभिमुखीकरण तथा स्वागत कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ ।

अंग्रेजी भाषा शिक्षकहरुको लागि आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई संस्थाको आजीवन सदस्य बनेबापत नेल्टाले स्वागत गरेको हो। नेल्टा झापाले जिल्लामा शिक्षकको पेशागत विकासमा सहयोग गर्न बिभिन्न किसिमका तालिम , सेमिनार, गोष्ठी आयोजना गर्दै आएको छ । संस्थाले शैक्षिक सामग्री निर्माण तथा वितरण गर्ने कार्य समेत गर्दै आएको छ ।

विगत एक बर्षमा नयाँ सदस्यता हासिल गरेका ४० जनालाई नेल्टा झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराई र उपाध्यक्ष केशव मैनालीले स्वागत गरेका थिए। सो अवसरमा केन्द्रीय सदस्य भट्टराईले झापा जिल्लाको बिगत बर्षहरुमा भएका क्रियाकलाप र आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा इक्यान झापा अध्यक्ष मिलन ओली, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जमरकट्टेल लाईमलाइट एजुकेशन कन्सल्टेन्सीका दिपक वाग्लेलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा नेल्टा सदस्य जेनी राई, केशव उप्रेती, संगिता बस्नेत, रामप्रसाद पराजुली, डेजी श्रेष्ठ, भानु वशिष्ठ, पुजा खतिवडा, दुर्गा रेग्मीलगायतले आफ्नो अनुभव प्रस्तुत गरेका थिए। नेल्टाका उपाध्यक्ष केशव मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव टिकाप्रसाद सुवेदीले गरेका थिए। कार्यक्रम नेल्टा झापा अध्यक्ष धर्मेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्