झापा , भदौ २१ । दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ । चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्ना कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ २६ देखि सूचना नै जारी गरेर नयाँ नोट वितरण गरिने नेपालले बताए । कोभिडका कारण अघिल्ला दुई वर्ष नयाँ नोट नबाँडेको राष्ट्र बैंकले गत वर्ष सर्वसाधारणका लागि नोट वितरण गरेको थियो । गत वर्ष राष्ट्र बैंकले असोज ४ देखि बैंक तथा वित्तीय संस्थालाई र दसैंको १५ दिन अघिदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो । दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै विक्री हुँदै आएको छ ।

दसैं र तिहारका लागि नयाँ नोटको आकर्षण बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हात हातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्री सुझाउँछन् । उनीहरूले नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूणर् बन्दै गएको बताएका छन् । पछिल्ला वर्षमा राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै आएको छ । विस्तारै नगद कारोबारको सीमा घटाउँदै जाने रणनीति राष्ट्र बैंकले लिएको छ । तर हरेक वर्ष ठूलो परिमाणमा नयाँ नोट वितरण गर्न भने छोडेको छैन । सफा नोट नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा नोटको उचित व्यवस्थापन हुन नसकेको राष्ट्र बैंककै उच्च अधिकारीहरू बताउँछन् । एकातिर डिजिटल भुक्तानी भन्ने अर्कोतिर हरेक वर्ष ठूलो परिमाणमा नयाँ नोट वितरण गर्ने काम उद्देश्यविपरीत भएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्