झापा, भदौ २५ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं २ मा नेकपा एमालेबाट देवराज घिमिरे ,अग्नी खरेल, पवित्रा निरौला खरेल र ध्रुवकुमार शिवाकोटी सिफारिस भएका छन् । तर, टिकटको दौडमा घिमिरे र खरेल मात्र देखिएका छन् ।

सांसद भइसकेकी निरौला खरेलको टिकट पाउने संभावना कम छ भने शिवाकोटीले च्याखे थापेको बताइन्छ । घिमिरे र खरेलबीच प्रतिष्पर्धा तीब्र छ ।

दुवैजना नेकपा एमालेका अध्यक्ष केपी ओलीको ‘दाहिने हात’को रुपमा मानिन्छन् । पार्टी वरियताक्रम दुवैको समान छ । दुवै स्थायी कमिटी सदस्य हुन् । तर, जिम्मेवारी घिमिरेको बढी छ । घिमिरे प्रदेश इन्चार्ज हुन् भने खरेल जिल्ला इन्चार्ज । राज्यको अवसर भने खरेलले धेरै पाएका छन् । खरेल पहिलो र दोस्रो संविधानसभामा एमालेका तर्फबाट मनोनित सांसद थिए। उनी एमालेको कानुन विभागमा रहेर लामो समयदेखि काम गर्दै आएका वरिष्ठ अधिवक्ता हुन्। पूर्व कानून मन्त्री रहेका खरेल ओली सरकारमा महान्यायाधिवक्ता थिए । पछिल्लो समय उनी जिल्ला इञ्चार्जको जिम्मेवारी लिएर झापामा नै बस्दै आएका छन् ।

त्यस्तै बिर्तामोड ४ निवासी घिमिरे राष्ट्रिय सभा सदस्य भएका थिए । उनी सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । झापा क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनको टिकट कसलाई दिने भन्ने निर्णय पार्टीले गर्ने भन्दै घिमिरे एउटै व्यक्तिलाई पार्टीले पटकपटक अवसर दिन नहुने तर्क गर्छन् ।‘उहाँको क्षमतालाई राज्य अनि पार्टीले पटकपटक उपयोग गरिसकेको छ’ आकांक्षी घिमिरेले भने,‘ मैले पनि जनताका लागि काम गर्ने अवसर पाउनु पर्छ ।’

घिमिरे २०४८ सालदेखि राजनीतिमा सक्रिय छन् । आफूले विगत ३२ वर्षदेखि निरन्तर जनताको सेवा गरिरहेको बताउँदै घिमिरेले जनताको सुखदुखसंगै प्रदेश इन्चार्ज भएर १४ वटा जिल्लामा पार्टीको जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए । प्रतिदिनसंग कुराकानी गर्दै एमाले नेता घिमिरेले आफू जनतासंग नभिजेको भन्ने कुरा अपवाह मात्र भएको स्पष्ट पारे । ‘ बिर्तामोड ४ मै घर बनाएर ३२ वर्षदेखि बसेको मान्छे नभिजेको भन्नु कि एक–डेढ वर्षअघि आएको मान्छेलाई भिजेको भन्नु ?’उनले प्रश्न गर्दै भने,‘यी कुरा आफूविरुद्धको गलत प्रचार मात्र हो ।’

झापा क्षेत्र नं २ मा एउटा जाति विशेषको उम्मेदवारले मात्र विजयी हासिल गर्नसक्ने तर्कलाई खण्डन गर्दै उनले जातिलाई नहेरी वैज्ञानिक आधारमा पार्टीले उम्मेदवार चयन गर्ने स्पष्ट पारे । झापा क्षेत्र नं २ मा सुधिरकुमार शिवाकोटी , पवित्रा निरौला खरेलसंगै प्रेम गिरी, देवी ओझा,देवेन्द्र दाहाल, मेनुका काफ्लेले पनि निर्वाचन जितेको स्मरण गराए । जात विशेषको आधारमा राजनीति कहिल्यै गर्न नहुने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्