झापा , भदौ २६ । मोरङको लेटाङमा फुटबल हेर्न भनेर अघिल्लो दिन घरबाट निस्किएका तीनजना बालिका सम्पर्कविहीन बनेका छन् ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका-३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ-४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई शनिबार बिहानदेखि सम्पर्कविहीन बनेका हुन् । घरबाट फुटबल हेर्न भनेर अभिभावकलाई ढाँटेर उनीहरु बिहान ११ बजेतिर घरबाट निस्किएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेटाङ वरपर फुटबललगायत खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको जानकारी छैन । ‘गाउँमा खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको पाइएन । तर बालिकाहरु फुटबल हेर्न भन्दै अभिभावकलाई ढाँटेर घरबाट निस्किएको खुलेको छ,’ श्रेष्ठले भने, ‘अभिभावक र स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारिएको छ । तर फेला पार्न सकिएको छैन ।’ तीनैजना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् । बिहान घरबाट निस्किएका छोरीहरु नफर्किएपछि अभिभावकले खोजी थालेका थिए । प्रहरीले भने घटनाका बारेमा आइतबार बिहान ६ बजेतिर मात्रै जानकारी पाएको डीएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार घरबाट हिँडेका बालिकाहरु साँझसम्म नफर्किएपछि अभिभावकले रातभर खोजी गरेको पाइएको छ । अवस्था पत्ता लाग्न नसकेपछि अभिभावकले प्रहरीलाई जानकारी गराएको उनले बताए । डीएसपी श्रेष्ठका अनुसार ढिलो गरेर घटनाको जानकारी आएकाले पनि खोजीमा समस्या भइरहेको छ । अभिभावक र स्थानीयको सहयोगमा खोजी तीव्र पारिएको भए पनि उनीहरुको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्