झापा, भदौ २८ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले पाँचजना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस भएकामध्ये पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी पहिलो नम्बरमा छन् ।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं २ बाट बुढाथोकीसंगै पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी ,केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सरिता प्रसाई , महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरी र नेविसंघका नेता नविनराज प्रसाईको नाम सिफारिस गरेको हो । त्यसमध्ये टिकट पाउने प्रवल संभावना बुढाथोकीलाई देखिएको छ ।
टिकटको लागि बुढाथोकीसंगै अरुको पनि चर्चा चलेको प्रसंगमा उनले आफूलाई कसैले पनि टक्कर दिन नसक्ने दावी गरे । आफू दुईपटक निर्वाचित सांसदसंगै पार्टीको केन्द्रीय सदस्य भएकाले टिकट पाउने कुरामा ढुक्क रहेको उनले बताए । टिकट पाउने कुरामा पार्टीभित्र आकांक्षीहरुको तीब्र लबिङ चलिरहेको छ नि भन्ने जिज्ञाशामा उनले आफ्नो तुलना कसैसंग नहुने दावी गरे । टिकटका लागि अर्का प्रवल दावेदार केन्द्रीय सदस्य सरिता प्रसाईले प्रत्यक्षमा भन्दा समानुपातिकतर्फ जान बल गरिरहेकाले टिकट आफूलाई नै प्राप्त हुने उनले ठोकुवा गरे । आकांक्षीमध्ये छत्रबहादुर गिरीसंग आफ्नो तुलना हुन नसक्ने उनको भनाई छ । त्यसबाहेक सुधिरकुमार शिवाकोटी र नवीनराज प्रसाईले यत्तिकै आ–आफ्नो नाम टिपाएको बुढाथोकीको बुझाई छ । टिकट प्राप्त भएपछि झापा क्षेत्र नं २ मा निर्वाचन जितेरै देखाउने समेत उनले दावी गरेका छन् ।
उनी यसअघि दुई पटक झापाको क्षेत्र नं ४ मा निर्वाचित भएका थिए । हक्की स्वभावका पुराना कांग्रेस नेता बुढाथोकी थलो क्षेत्र नं २ को शनिश्चरे भए पनि उनले दुई पटक झापाको क्षेत्र नं ४ बाट निर्वाचन लडेर विजयी हासिल गरेका थिए । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं ४ बाट बुढाथोकी निर्वाचित भए। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी त्यस क्षेत्रबाटै विजयी भए । संविधानसभा सदस्यपछि उनी सामान्य प्रशासन मन्त्री पनि भए। २०७४ सालको निर्वाचनमा भने उनले कुनै पनि क्षेत्रबाट चुनाव लडेनन्।