बिर्तामोड, भदौ २८ । बिर्तामोडस्थित नेपाल ट्रेड कन्सर्नद्वारा ठगिएका अटो पीडितहरुले क्षतिपूर्तिको माग गरेका छन ।

आफूहरुलाई झुक्याएर गुणस्तरहीन अटो बिक्री गरी ठगी गरेको भन्दै उनीहरुले पत्रकार सम्मेलन गरि क्षतिपूर्तिको माग गरेका हुन् ।

२०७५ सालमा बिर्तामोडको भद्रपुर बस स्टेण्डस्थित नेपाल ट्रेड कन्सर्नले टुकटुक ब्राण्डको अटोलाई अन्य ब्राण्डहरु भन्दा गुणस्तरीय रहेको भनेर बिक्री गरेको तर, खरिद गरेकै दिन अटो बिग्रेको, कमाइभन्दा अटो मर्मतमा बढी खर्च भएका कारण अटो नै बिक्रेतालाई जिम्मा लगाएको उनीहरुको गुनासो छ ।
पियाजिओ कम्पनीको दिने भनेर आफूबाट १ लाख ८२ हजार बैना लिएको तर, हप्ता दिनपछि गुणस्तरहीन टुकटुक ब्राण्डको अटो आफूलाई भिडाएको पीडितमध्येका एक बिर्तामोड–४ का दुर्गाप्रसाद सुबेदीले गुनासो गरे । अटो लैजाँदा लैजाँदै झिलझिले नपुग्दै बिग्रेको उनको भनाई छ । अर्कैले फिर्ता गरेको अटो आफूलाई बिक्री गरेको पछिमात्र थाहा पाएको सुबेदीले बताए । नगद १ लाख ८२ हजारसँगै शोरुमले प्रथम बहुउद्देश्यीय सहकारी संस्थामार्फत फाइनान्स गराइदिएर अरु ४ लाख रुपैयाँसमेत लगेको सुबेदीको भनाई छ । उनले अटो पटकपटक बिग्रने र मर्मतमा अत्यधिक खर्च आउन थालेपछि ६ महिनापछि शोरुमलाई अटो जिम्मा लगाएको बताए । शोरुम संचालक सुरेश साह र उमेश साहलाई समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा पनि नसुनेको, हाल कम्पनी नै बन्द गरेको र जे गर्न मन लाग्छ गर्नु भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने गरेकाले क्षतिपूर्तिका लागि आफूहरु सम्बन्धित निकायको ढोकासम्म पुग्न बाध्य भएको उनले बताए ।

हल्दिबारी–२ का किरण आचार्यको पनि गुनासो उस्तै छ । आचार्यलाई बजाजको अटो दिने भनेर १ लाख ८० हजार लिएको तर, पछि त्योभन्दा राम्रो भनेर टुकटुक बिक्री गरेर झुक्याएको आचार्यले बताए । अटो घर पुर्याएर केहीबेरमा स्टार्ट गर्न खोज्दा नभएको र छिमेकीलाई बोलाएर हेर्न लगाउँदा ट्यांकी चुहिएको र पेट्रोल सकिएर स्टार्ट नभएको पाइएको उनले बताए । आचार्यका अनुसार शोरुमबाटै फाइनान्सको सबै प्रक्रिया मिलाएर नियमित किस्ता नबुझाए अटो प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले फिर्ता लिने उल्लेख गरिएको थियो । अत्यन्तै बिग्रने र खर्च धान्न नसकेपछि उनले सहकारीलाई नै अटो जिम्मा लगाएका छन् । उनले सहकारीमा १ लाख किस्तासमेत तिरेका थिए । अटोमा रकम डुबेपछि आफू बिदेश गएको र सहकारीले ऋण तिर्न ताकेता गर्दा मात्र आफ्नो ऋण बाँकी रहेको थाहा पाएको आचार्यले गुनासो गरे ।

बिर्तामोड–३ का सतिस साहले आफ्नो सिटी रिक्सा, १ लाख ७० हजार नगद र सहकारीबाट ऋण लिएर किनेको अटो भोलिपल्टै बिग्रेको बताए । कुदाउँदा कुदाउँदै १५ दिनपछि च्यासिस भाँचिएर दुर्घटना भएको र घाइतेको उपचार खर्च समेत ऋण गरेर तिरेको शाहले बताए । दोस्रो पटक पनि च्यासिस भाँचिएपछि किनेको ३ महिनापछि नै शोरुमलाई अटो जिम्मा लगाएको तर, शोरुमले हालसम्म पनि आफ्नो पैसा फिर्ता नगरेकाले ब्याज बढेर आफू ऋणमा डुबेको भन्दै साहले आक्रोश पोखे ।

कार्यक्रममा अन्य पीडितहरु शिवानन्द राजवंशी कचनकवल–१, गंगादेवी बुढाथोकी शिवसताक्षी–१०, निराकुमारी खड्का अर्जुनधारा–१ र बिर्तामोड–८ निवासी दिपा ढुंगेल उपस्थित थिए । ती पीडितहरुले पनि गुणस्तरहीन अटो आफूहरुलाई शोरुमले झुक्याएर बिक्री गरेका कारण पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुबेर श्रेष्ठ, बासु दुलाल र जिल्ला कमिटी सदस्य कुशल आचार्यले सम्बन्धित निकायले पीडितहरुको समस्या सुन्नुपर्ने र न्याय दिलाउनु पर्ने बताए । यता शोरुम संचालक सुरेश साहले भने पीडितहरुले भनेजस्तो अटो गुणस्तरहीन नभएको जिकिर गरेका छन् । टुकटुक भारतीय ब्राण्डको भएको र बिर्तामोडको सडकमा अहिले पनि संचालनमा रहेको शाहले बताए । मेसिनरी सामान पुरानो हुँदै जाँदा सामान्य समस्या आउने दाबी गर्दै शोरुममा केही बर्षअघि आगलागी भएका कारण अहिले बन्द रहेको उनले बताए । तत्कालीन नेपाल ट्रेड कन्सर्न रहेको स्थानमा भने साहले बीएस मार्ट संचालन गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्