बिर्तामोड, भदौ २९ ।‘कालो अनुहार हेरेर हामीलाई पेले , मधेशी भनेर हेप्न खोजे , हामीले न्याय पाएनौं ’यो गुनासो हो झापा सुरुङ्गाका व्यवसायी रुपन मण्डल र बेचन मण्डलको ।

बुधवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनीहरुले आफूहरुमाथि अन्याय हुँदासमेत कहीकतैबाट न्याय नपाएको गुनासो गरेका हुन् । कन्काई नगरपालिका , ३ नं वडा कार्यालय , कन्काई उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय सुरुङ्गालगायतका निकायलाई न्यायका लागि गुहार्दासमेत आफूहरुले कसैबाट पनि न्याय नपाएको उनीहरुको भनाइ छ ।

सुरुङ्गामा अवस्थित ओभी सुरुङ्गा सपिङ कम्प्लेक्स नामक डिपार्टमेन्ट स्टोरका सञ्चालकद्वय कनकाई–५ का रुपन मण्डल र बेचन मण्डलले घरधनीबाट आफूहरु अन्यायमा परेको भन्दै पत्रकार सम्मेलनमार्फत सहयोगका लागि अपिल गरेका छन् । मण्डलद्वयले आफूहरु घरधनी रुद्रप्रसाद ढकालबाट पीडित भएको र समस्या समाधानका लागि विभिन्न निकायको ढोका ढकढक्याउँदासमेत कुनै सहयोग नपाएको भन्दै पत्रकार सम्मेलन गरेर न्यायका लागि अपिल गरेका हुन् ।

मण्डलद्वयले कनकाई–३ सुरुङ्गाका रुद्रप्रसाद ढकालको घरमा २०७६ साल असार ३१ गते १० बर्षका लागि मासिक ४८ हजार रुपैँया भाडा तिर्ने सम्झौता गरी सपिङ कम्प्लेक्स सञ्चालन गर्दै आएका थिए । धरौटीबापत मासिक रुपमा ११ लाख ९२ हजार घरधनीलाई दिइसकेको अवस्थामा गत असार र साउन दुई महिनाको घरभाडा बुझाउन बाँकी रहँदा कम्प्लेक्सको चाबी नै खोसेर पसल सञ्चालन गर्न नदिएको गुनासो उनीहरुको हो । आफूहरुले ११ लाख ९२ हजार रुपैँया घरधनीबाट पाउनु पर्ने अवस्थामा दुई महिनाको भाडा नबुझाउँदा साउन २१ गते घरधनी रुद्रप्रसाद र उनका भाइ ओमप्रकाश ढकालले चाबी खोसेको उनीहरुले दावी गरे । चाबी दिन पटकपटक आग्रह गर्दासमेत ढकालले भाडा नबुझाए चाबी नदिने र एक हप्तामा भाडा नदिए आफैँ सटर खोलेर सामान बिक्री गरेर भाडा असुल्ने धम्की दिएको कम्प्लेक्स सञ्चालक रुपन मण्डलको भनाई छ । एक हप्तासम्ममा पनि घरधनीले चाबी नदिएपछि समस्या समाधानका लागि वडा कार्यालय, नगरपालिका, इलाका प्रहरी कार्यालयमा गएर निवेदन दर्ता गराउन खोज्दासमेत निवेदन दर्ता नगरिदिँदा आफूहरु थप पीडित बनेको मण्डलले बताए । कनकाई उद्योग वाणिज्य संघले निवेदन लिएको तर संघका पदाधिकारीहरुले छलफलमा घरधनीको पक्ष लिँदै सम्झौताविपरित घरभाडा ८५ हजार भएको र सञ्चालकले बाँकी भाडा बुझाउनु पर्ने दबाब दिएको उनीहरुको गुनासो छ ।

करिब ३ करोड ५० लाख लगानी रहेको कम्प्लेक्समा विभिन्न बैंक तथा वित्तीय संस्थाको २ करोड ऋण लगानी रहेको सञ्चालक मण्डलले जानकारी दिए । लामो समयदेखि कम्प्लेक्स बन्द रहँदा आफूहरु लाखौँ नोक्सानमा रहेको र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको लागि पत्राचार गर्न थालेको उनीहरुले बताए । उनीहरुले आफू सञ्चालकको हस्ताक्षर भएको खाली चेक पसलमा नै छोडेको र चाबी घरधनीसँगै भएकाले चेक दुरुपयोग हुन सक्ने चिन्तासमेत व्यक्त गरेका छन् । सञ्चालकद्वयले आफूहरुलाई आतंकित पार्दै आफ्नो र विभिन्न संघसंस्थाको लगानी डुब्ने गरी नोक्सान पुर्याउने कार्य ढकाल परिवारले गरेको भन्दै चार करोडभन्दा बढी घरधनीबाट क्षतिपूर्ति भराई पाउन र आफूहरु अन्यायमा परेकाले न्यायका लागि पहल गरिदिन सम्पूर्ण सञ्चारक्षेत्र, नागरिक समाज, आम उद्योगी व्यवसायी र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् । उनीहरुले आफूहरुको जीउज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षाका लागि निवेदनसमेत दिएका छन् ।

यता घरधनी रुद्रप्रसाद ढकालले भने घरभाडा ८५ हजार रुपैयाँ तिर्नेगरी मौखिक संझौता गरिएको र बहाल कर कम होस् भन्ने उद्धेश्यले ४८ हजारको मात्र लिखित सम्झौता गरेको बताए । विगत १ बर्षदेखि घरभाडा आफूले नपाएको र ६ महिनादेखि कम्प्लेक्स सञ्चालक सम्पर्क नआउने र कामदारमात्र पठाएर कम्प्लेक्स सञ्चालन गर्ने गरेकाले बाध्य भएर चाबी आफूले लिएर घर खाली गराइदिन वडा कार्यालय तथा प्रहरी कार्यालयमा निवेदन दिएको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्