झापा, भदौ २९ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत १ नं प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरुको तयारी लगभग पूरा भएको छ ।

झापामा प्रदेशस्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने र ती खेलहरु जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले जानकारी दिए ।

भद्रपुरस्थित मेची रंगशालामा महिला–पुरुष कबड्डी, महिला–पुरुष खो–खो र आर्चरी खेल हुनेछन् भने काँकरभिट्टामा महिला क्रिकेट र व्याडमिन्टन, दमकमा महिला भलिबल तथा बिर्तामोडमा तेक्वान्दो र शारीरिक सुगठनका खेलहरु हुने समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए ।
मंगलबार खेलकुद विकास समितिको पदाधिकारी तथा प्रशिक्षकहरुको टोलीले खेलहरु सञ्चालन हुने स्थल र त्यहाँको व्यवस्थापकीय पक्षको निरीक्षण तथा अनुगमन गरेको छ । सीमित स्रोत–साधनका बावजुद प्रतियोगितालाई उत्कृष्ट र सफल बनाउन समिति लागिपरेको अध्यक्ष भण्डारीले बताए ।
बिहीबार दमकमा महिला भलिबलको खेलसँगै झापामा सञ्चालन हुने खेलहरुको उद्घाटन हुने समितिका उपाध्यक्ष गंगा भुर्तेलले जानकारी दिइन् । उनले जहाँ जुन खेल हुन्छ त्यहीँ खेलको उद्घाटन गरिने पनि बताइन् । झापामा भदौ ३० देखि असोज ५ गतेसम्म खेलहरु सञ्चालन हुने समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले जानकारी दिए ।

खेलाडीहरुको विदाइ
जिल्ला खेलकुद विकास समिति झापाले जिल्लाबाहिर खेल्न जाने खेलाडीहरुलाई विदाइ गरेको छ । मंगलबार मेची रंगशालामा एथलेटिक्सका खेलाडीहरुलाई जीतको शुभकामनासहित विदाइ गरियो । प्रशिक्षक गोपाल यादवको नेतृत्वमा रहेको एथलेटिक्स टोलीलाई समितिका अध्यक्ष भण्डारीले झापाको जर्सी र झण्डा प्रदान गर्दै जीतको शुभकामना दिएका थिए ।

त्यसैगरी, बिर्तामोडमा पुरुष भलिबलका खेलाडी र अफिसियल, कनकाईमा महिला फुटबल र टेवलटेनिसका खेलाडी र अफिसियल तथा दमकमा आरटीएफ तेक्वान्दोका खेलाडी–अफिसियल र बुद्धिचालका खेलाडीलाई झापाको जर्सी र झण्डा प्रदान गरेर विदाइ गरिएको समितिका सदस्य तथा प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । जिल्लाबाहिर हुने खेलको तालिका अनुसार खेलाडीहरु जाने र त्यसै अनुसार समितिले विदाइ गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रदेशस्तरयि प्रतियोगितामा झापाबाट ४४९ खेलाडीले २७ विधाका खेलमा प्रतिस्पर्धा गर्दैछन् । प्रदेशस्तरीय प्रतियोगितामा मेडल प्राप्त गर्ने खेलाडी र टिमलाई समितिले सम्मान गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्