झापा , भदौ ३० । सुपरहिट फिल्म ‘पुष्पा : द राइज’ की अभिनेत्री रश्मिका मन्दानाले आफ्नो गीतमा नाच्ने नेपाली बालिका भेट्न चाहेको बताएकी छन् ।

उनले बालिकाले आफ्नो गीत ‘सामी सामी’ मा नाचेको एक भिडियो शेयर गर्दै उनीसँग भेट्ने इच्छा राखेकी हुन् । भिडियोका साथ रश्मिकाले सामाजिक सञ्जालमा लेखेकी छन् ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’ ‘सामी सामी’ गतिमा डान्स गर्ने बालिका मकवानपुर हेटौँडाको रसल एकेडेमीकी छात्रा हुन् । बरिसा क्षेत्री नाम गरेकी छात्रा अहिले युकेजीमा अध्ययनरत छिन् । उनले यो गीतमा विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत डान्स गरेकी हुन् । करिब ६ महिना अगाडि उनले गरेको यो डान्स अहिले आएर भाइरल भएको रसल एकडेमीका प्रिन्सिपल सरोज पौडेलले बताए । ‘त्यो डान्स करिब ६ महिना अगाडिको कार्यक्रमको हो । अहिले अपलोड भएको हो ।’ रश्मिकाको पछिल्लो फिल्म ‘पुष्पा’ ले नेपालमा पनि राम्रो व्यवसाय गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्