झापा, असोज ४ । दक्षिणी झापाको कचनकवलमा विषालु सर्पले डसेर फेरि एक जनाको ज्यान गएको छ ।

कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सोही गाउँपालिका– ३ डाकुपाडा निवासी ६५ वर्षीया वृद्धा कालघाट्नी राजवंशीको ज्यान गएको हो ।
गोमन सर्पले उनको देब्रे खुट्टामा डसेको थियो । सर्पले डसेर घाइते भएकी राजवंशीलाई छिमेकीले दिउँसो करिब ३ बजेर १० मिनेटमा सर्पदंश उपचार केन्द्र ल्याएका थिए । उपचार केन्द्र ल्याइपुर्याउँदा उनको शरीरभरि विष फैलिसकेको थियो ।

उनलाई १० भाइल एन्टीस्नेक भेनम दिएपनि स्वास्थ्यमा खासै सुधार नआएपछि भेन्टिलेटर नभएकोले अन्यत्र रेफर गर्नु परेको केन्द्रका प्राविधिक ह्रदय साहले जानकारी दिए ।
‘बिरामीलाई गोमन सर्पले डसेको हो,’ प्राविधिक साहले भने, ‘गोमनले डसेको एक घण्टाभित्रै बिरामीलाई उपचार केन्द्रमा ल्याइपु¥याई सक्नुपर्ने हुन्छ, उनलाई ल्याउन ढिला गरियो ।’ त्यहाँबाट रेफर गरेकी राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

एकल महिला रहेकी राजवंशी घरमा एक्लै थिइन् । उनलाई कति बेला, कहाँ सर्पले डसेको छिमेकीलाई थाहा छैन । छिमेकीहरू भन्छन्, ‘उनले समयमै हामीलाई जानकारी गराउँदा ज्यान बचाउन सकिन्थ्यो ।’ उनका छोरा विदेशमा छन् भने बुहारी चिया बगानमा काम गर्न गएकी थिइन् । यसअघि उपचार केन्द्रमा भेन्टिलेटर अभाव हुँदा गत भदौ ४ गते किङ कोब्रा सर्प डस्दा कचनकवल–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडूको अकालमै ज्यान गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्