झापा, असोज ८ । गएराति मेची राजमार्गअन्तर्गत मेचीनगर १२ पिपलडाँगीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना गंभीर घाइते भएका छन् ।
राति ११.३० बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०–०१४प३३५० र विपरित दिशाबाट जाँदै गरेको प्र१–०१–२६७८ नं को दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्र१–०१–०१४ प ३३५० नं को मोटरसाइकलका चालक कन्काई ४ बस्ने ३८ वर्षिय कृष्णप्रसाद सिग्देल र प्र१–०१–०१४ प २६७८ नं को मोटरसाइकलका चालक अर्जुनधारा ४ बस्ने ४५ वर्षिय विष्णु थापाको मृत्यु भएको हो । घाइते दुवैको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक जवेगुले बताए । दुर्घटनामा प्र१–०१–०१४प ३३५० नं को मोटरसाइकलको पछाडि सवार कन्काईकै ५३ वर्षिय रामबहादुर अधिकारी घाइते भएका छन् । उनको बिएण्डसी हस्पिटलमै उपचार भइरहेको जवेगुले जानकारी दिए ।