बिर्तामोड, असोज १० । बच्चाको लागि विशेष उपचार पाउन बाहिर धाउनुपर्ने समस्या अब झापाबासीहरुले बेहोर्नु नपर्ने भएको छ ।

समाजसेवी लीला मैनालीको परिवारले संजिवनी हस्पिटलदेखि दक्षिणपट्टि बिर्तामोड चिल्ड्रेन हस्पिटल संचालनमा ल्याएका हुन् । जसको घटस्थापनाको अवसर पारेर सोमवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । लीला मैनाली , उनका छोरी डा. सुजाता मैनाली आचार्य र ज्वाइँ डा. रुपक आचार्यले १५ बेडको बच्चाको हस्पिटल संचालन गरेका हुन् ।

बिर्तामोडमा बच्चाको अस्पताल नभएको र उपचारका लागि भारतको सिलिगुडीलगायतका ठाउँ धाउनुपर्ने समस्या देखेर आफूहरुले हस्पिटल संचालनमा ल्याएको प्रवन्ध निर्देशक डा. रुपक आचार्यले बताए । हस्पिटलमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, ओपिडी सेवा ,आधुनिक ल्याब , आधुनिक एक्सरेलगायतका सुविधा रहेको जानकारी दिए । बच्चाको मुटुको इको गर्न काठमाण्डौं जान नपर्नेगरी इकोको सुविधा रहेको बताउँदै उनले केही दिनमा बच्चाको दिमागसम्बन्धी जाँच गर्ने व्यवस्था पनि गरिने जानकारी दिए । हाल हस्पिटलमा ६ जना दक्ष चिकित्सक र नर्सिङ टीम रहेको जनाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान , नोबेल मेडिकल कलेज विराटनगरलगायतका हस्पिटलमा १२ वर्षको अनुभव बटुलेका हस्पिटलका प्रवन्ध निर्देशक डा. आचार्य नवजात शिशु तथा बालरोग विशेषज्ञ र कुपोषण रोग विशेषज्ञ हुन् । उनी विगत चार वर्षदेखि बिएण्डसी हस्पिटलमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए । त्यस्तै सिइओको जिम्मेवारीमा रहेकी डा. सुजाता मैनाली आचार्य गाइनो फिजिसियन हुन् । विगत सात वर्षदेखि चिकित्सा सेवामा कार्यरत उनी पनि बिएण्डसी हस्पिटलमै थिइन् ।

हस्पिटलका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला ,नेपाल मेडिकल एशोसिएसन झापाका अध्यक्ष डा. सीपी यादव ,बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । हस्पिटलकी सिइओ डा. सुजाता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन नैनकला भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्