बिर्तामोड, असोज ११ ।भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाएको बिर्तामोड नगरपालिकाले माछासहितको एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

भारतबाट माछा लिएर आएको प्रदेश –१–०१–००१ च ७४०८को पिकप भ्यान आज बिहान ४ः३० बजे बिर्तामोडको अन्जली हस्पिटल छेउबाट नगर प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालयको सहयोगमा सो पिकअप भ्यान नगरपालिकाको कार्यालयमा राखिएको छ । उक्त गाडी गौरादहका दाहाल थरका व्यक्तिको भएको बताइएको छ । उनी सम्पर्कमा आएका छन् । तर, चालक र माछा व्यापारी भने सम्पर्कमा आएका छैनन् ।
बिर्तामोडको कृषि थोक बजारमा मरेका माछा लान र बिक्री गर्न प्रतिवन्ध लगाएपछि माछा व्यापारीहरुले अन्जली हस्पिटल छेउमा गाडी रोकेर त्यहीँबाट साइकलमा माछा ओसार्ने योजना बनाएको आशंका गरिएको छ । ती माछाको बारेमा अनुसन्धान भइरहेको बताउँदै उपप्रमुख नगेन्द्र संग्रौलाले गुणस्तर बिभागलाई जानकारी गराई आबश्यक कानुनी कार्बाही अगाडि बढाईएको जानकारी दिए ।
बिर्तामोड नगरपालिकाले गत असोज १ गते भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।