झापा , असोज १५ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-६ मैदेलमा अज्ञात व्यक्तिले किबीको बोटहरू फडानी गर्दा लाखौँको क्षति भएको छ ।

स्थानीय फुर्तिमान तामाङको बगानमा रहेको ११ बोट बयस्क किबीको बोट रातिको समयमा अज्ञात व्यक्तिले फडानी गर्दा लाखौँको नोक्सानी भएको हो। चित्र गुप्ता बहुउद्देश्यीय कृषि फार्ममार्फत करिब १२ रोपनी क्षेत्रफलमा लगाइएको ६० बोट किबीमध्ये ११ बोट धारिलो हतियारको प्रयोग गरी फेदबाटै काटिएको छ । उक्त घटना गत भदौ २८/२९ गते भएको हुनसक्ने अनुमान गरिएको छ । लटरम्म फलेको किबीको बोटहरू क्रमशः ओइलाउँदै गएपछि हेर्न जाँदा असोज ४ गते मात्रै घटना थाहा भएको पीडित तामाङले बताए । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी चौकी मुक्लीमा पनि निवेदन दिइसकेको तामाङले बताए । करिब ६ वर्षअघि आफूले विस्तार गरेको किबीले उत्पादन दिन थालिसकेपछि बोट नै काटिँदा घाटा व्यहोर्नु परेको उनको दुखेसो छ । उक्त किबीले दुई वर्षदेखि उत्पादन दिन थालेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्