एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभामा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२९ जनाको मृत्यु भएको छ ।

पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए । खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा भागदौड हुँदा कम्तीमा १२९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा करिब १८० जना घाइते भएका छन् ।

सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा खेल सकिएको जनाउमा सिटी बजिसकेपछि समर्थकहरु पिचमा दौडिएको देख्न सकिन्छ । उनीहरुलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यासबाट निसासिएका उनीहरुबीच भागदौड सुरु भएको थियो । भिडियोहरुमा प्रहरी र समर्थकहरुबीच घम्साघम्सी परेको समेत देखिन्छ । पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्ताका अनुसार घटनामा दुई जना प्रहरीको पनि मृत्यु भएको छ ।

‘३४ जनाको रंगशालाभित्रै मृत्यु भएको हो । अरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ उनले भने । उनका अनुसार रंगशालामा अक्सिजनको कमि भएका कारण उनीहरुको मृत्यु भएको हो ।
घटनाबारे इन्डोनेसियन फुटबल एसोसिएसनले अनुसन्धान थालेको छ भने यो घटनाले इन्डोनेसियन फुटबललाई ‘कलंकित बनाएको’ बताएको छ । घटनापछि यहाँकै मुख्य मानिने लिग बिआरई लिग १ एक साताका लागि रोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्