झापा, असोज १९ । मोटरसाइकल दुर्घटनामा परी शिक्षक केशव गणेशको मृत्यु भएको छ ।
केही दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते गणेशको बिराट नर्सिङ होम बिराटनगरमा आई सि युमा उपचार भइरहेको थियोे। भारत बंगालको कर्सियांगबाट डिप्लोमा अनर्स गरेका गणेशले लामो समयदेखि विराटनगरमा शिक्षण पेशा गर्दै आएका थिए ।
यता इलामको रोङ गाउँपालिकास्थित मेची राजमार्गमा सडकबाट करिब ५ सय मिटर तल झरेर मारुती भेन दुर्घटना हुँदा दुईजना गंभीर घाइते भएका छन् । गएराति इलाम रोङ गाउँपालिका–४ बाघखोरस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको मे.१ ज ३४३६ नम्बरको मारुती भेन रोडबाट करिव ५०० मिटर तल झरेर सवारी दुर्घटना भएको हो । दुर्घटना राति भएपनि स्थानीयले आज बिहान ९.३० बजे देखेर त्यसबारे प्रहरीलाई खबर गरेका थिए ।
टेलिफोनमार्फत प्रहरी चौकी किटेनीमा खबर प्राप्त हुनासाथ प्रहरी चौकी किटेनी र प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर उद्धार गरेको थियो । दुर्घटनामा भेन चालक इलाम सूर्योदय नगरपालिका २ बस्ने अन्दाजी ३२ वर्षका चन्द्र पालुङ र भेनमा सवार पाँचथर फिदिम नगरपालिका १४ बस्ने अन्दाजी ४० वर्षका सुमन भन्ने ईन्द्रकुमार राई घाईते भएका छन् । दुवै घाईतेलाई उपचारको लागि बि.एण्ड.सि. अस्पताल बिर्तामोड ल्याइएकोमा चालकको अवस्था मध्यम र भेनमा सवार राईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।




