झापा, असोज २१ । टीकाको दिन बिर्ताबजारमा लागेको दशैं मेलामा सन्थाल नाच नआउँदा सबैलाई खल्लो भयो । बल्ल बेलुकापख एउटा टोली नाच देखाउन आउँदा नाच हेर्न सबैजना झुम्मिए । नाच हेर्ने र भिडियो खिच्नेको भीड लाग्यो ।

त्यसको भोलिपल्ट एकादशीका दिन गरामनीमा लागेको मेलाको मुख्य आकर्षण सन्थाल नाच नै बन्यो । जिल्लाका १३ वटा टोलीले सामूहिक रुपमा सन्थाल नाच देखाउँदा पुरै मेला गुन्जयमान भयो । मेला भर्न आएका अधिकांशहरु धित नमर्नेगरी सन्थाल नाच हेर्न व्यस्त बने । वास्तवमा दशै मेलाहरु सन्थालहरुले नै थगिरहेका छन् । यदि सन्थाल नाच नहुने हो भने दशै मेला फिका हुन्छ । जब दशै आउँछ अनि सन्थाल नाचको खोजी हुन्छ । ‘दशै आयो ढोल बजाउँदै’ भनेझैं सन्थालहरुको ढोल नबजिकन दशै आएको आभास हुँदैन ।

विडम्वना नै मान्नुपर्छ कि यहाँ सबैले सन्थाल नाचको खोजी गर्छन् तर, सन्थालको खोजी कसैले गर्दैनन् । दशैमा सन्थाल नाचको खोजी गर्नेहरुले पलायन हुँदै गएका सन्थालहरुको बारेमा रतिभर चासो लिएको पाइदैन । आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८ अनुसार ५९ आदिवासी जनजाति समूहलाई चार वर्गमा वर्गीकरण गरिएको छ । अति सिमान्तकृत समूहमा रहेका सन्थाललाई जगेर्ना नगर्ने हो भने उनीहरु लोपोन्मुख समूहमा झर्न सक्छन् । नेपालमा कुसुण्डा, वनकरिया, राउटे, सुरेल हायू, राजी, किसान, लेप्चा, मेचे, कुशवाडीया जातिलाई लोपोन्मुख समूहमा राखिएको छ । संकटबाट गुज्रिरहेको सन्थाल समुदायको अस्तित्व जोगाउनेतर्फ कसैले ध्यान नदिएकोमा नेपाल सन्थाल विकास संघका अध्यक्ष बडाराम हेमरम चिन्ता गर्छन् । ‘सन्थालहरु तीब्र रुपमा बिस्थापित भइरहेका छन्’ उनले भने ,‘ संकटको यो अबस्थामा सन्थाल नाच मात्र खोजेर हुँदैन सन्थाल जातिलाई जोगाउनु पर्यो ।’

विगतमा झापा र मोरङमा सन्थालहरुको बाक्लो बसोबास रहेको थियो । भूमिपतिबाट भूमिहीन बन्दै सन्थालहरु पलायन हुँदै गएका छन् । सन्थालहरु आर्थिक , सामाजिक , राजनीतिक, धार्मिक , शैक्षिक हरतरहले प्रभावित बनेको भन्दै अध्यक्ष हेमरमले जातीय सांस्कृतिक सम्पदा जोगाउन सन्थालहरुको अस्तित्व र पहिचान जोगाउन आबश्यक भएको जोड दिए । गरामनी मेलामा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरेका बिर्तामोड नगरपालिका वडा नं ८ का अध्यक्ष अजय कार्कीले वर्षमा एकपटक मात्र सन्थालहरुलाई खोजी गरेर नहुने धारणा राखे । ‘सन्थालहरु देशका गहना हुन् ’उनले भने,‘सन्थालहरुलाई हामी सबैले जोगाउनु पर्छ ।’ उनीहरु गास , बास र कपासको आधारभूत समस्याबाट गुज्रिरहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने वडाध्यक्ष कार्कीको भनाई छ ।

गरामनी मेलाको सन्थाल नाच प्रतियोगितामा झापा गाउँपालिका ७ मदरगाछको टोली प्रथम भएको थियो । त्यस टोलीका नाइके सुफल सोरेन आफूहरुलाई परम्परात सन्थाल नृत्यलाई निरन्तरता दिन गाह्रो भइरहेको बताए । ‘पहिला पुरस्कारको व्यवस्था नहुँदा समेत आर्थिक अबस्था राम्रो हुँदा हामीलाई समस्या थिएन’ उनले भने ,‘अहिले पुरस्कार दिँदा पनि नाच देखाउन गाह्रो छ ।’ आफूहरुको सांस्कृतिक सम्पदालाई जोगाउन सन्थाल र सन्थालहरुको बसोबासलाई जोगाउनुपर्ने सोरेनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्