झापा, असोज २१ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई झापामा एउटा संघीय र दुईवटा प्रदेश क्षेत्र दिने भएको छ ।
एमालेसंगको चुनावी तालमेलमा राप्रपाले झापाको ३ नं निर्वाचन क्षेत्र र प्रदेश १ को ‘ख’ र प्रदेश ४ को ‘ख’ पाउने भएको हो । क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उठ्दैछन् भने प्रदेश १ को ‘ख’ बाट सविना बजगाई वा कल्याण खड्कामध्ये एकजना उम्मेदवार बन्नेछन् । त्यस्तै प्रदेश ४ को ‘ख’ बाट राप्रपाले खुश्बु ओलीलाई उम्मेदवार बनाउने भएको छ ।
एमालेले भने झापा क्षेत्र नं १ मा स्थायी कमिटी सदस्य अग्नी खरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा उम्मेद्वार सिफारिस भएका रविन कोईरालालाई प्रदेशसभामा झारेर उनको ठाउँमा खरेललाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको हो । तर,कोइरालाले प्रदेशमा उम्मेद्वार हुने इच्छा देखाएका छैनन् । कोइराला उम्मेद्वार हुन नमाने यसअघिका प्रदेश सांसद श्रीप्रसाद मैनाली नै एमालेका तर्फबाट प्रदेश १ ‘क’ मा उम्मेद्वार हुने सम्भावना रहेको जनाइएको छ ।
झापाका अन्य क्षेत्रमा एमालेले यसअघि नै आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको थियो । झापा २ मा स्थायी कमिटी सदस्य देवराज घिमिरे, झापा ४ मा एलपी साँवा र क्षेत्र नं. ५ मा अध्यक्ष केपी ओली उम्मेद्वार बन्दैछन् ।




