झापा, असोज २१ । नेकपा एमालेले झापाका पाँचवटै संघीय र प्रदेश सांसदका उम्मेद्वारको टुंगो लगाएको छ ।

राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चारवटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको हो ।

झापा क्षेत्र नं. ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन् । क्षेत्र नं. १ मा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सार्ने निर्णय भएको छ । उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफारिसमा परेका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्य बनाइने भएको छ ।

क्षेत्र नं २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन् । क्षेत्र नं ३ मा एमालेले राप्रपालाई छोडेको छ । सो क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेद्वार बन्नेछन् । यस्तै क्षेत्र नं. ४ मा लालप्रसाद (एलपी) सावाँ लिम्बूले पुनः उम्मेदवारी पाएका छन् । प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘ख’ मा राप्रपाले पाएको छ । त्यस क्षेत्रमा सविना बजगाई वा कल्याण खड्कामध्ये एकजना उम्मेदवार बन्नेछन् । क्षेत्र नं १ को ‘क’ मा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेद्वार बनाउने तयारी छ । क्षेत्र नं. २ को ‘क’ बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार बन्ने भएका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा एमाले केन्द्रीय सदस्य हरि राजवंशी र ‘क’ मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ उम्मेद्वार हुनेछन् । क्षेत्र नं ४ ‘क’ बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट राप्रपाले खुश्बु ओलीलाई उम्मेदवार बनाउने छ ।
निर्वाचन क्षेत्र नं. ५ को ‘क’ बाट पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री हिक्मत कार्की र ‘ख’ बाट पार्टीका प्रदेश सदस्य होमबहादुर थापा उम्मेद्वार बन्ने निश्चित भएको छ ।

नेकपा एमालेले झापाका सबै पाँचवटै संघीय र प्रदेश साँसदका उम्मेद्वारको टुंगो लगाएको हो । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्