कुमरखोद, असोज २१ । मोटरसाइकलले ठक्कर दिई एक महिलालाई घाइते पार्ने मोटरसाइकल चालक अस्पतालबाट फरार भएका छन् ।

आफू पनि घाइते भएका मोटरसाइकल चालक झापा गाउँपालिका वडा न ७ बस्ने २६ वर्षिय मैनुल शेख अस्पतालबाट फरार भएका हुन् । उनले चलाएको को ३३ प ६४०५ नं को मोटरसाईकलले हिजो साँझ ७ः ३० बजे झापा गाउँपालिका २ स्थित हुलाकी सडकखण्डको पंचमचोकमा बाटोमा हिँड्दै गरेकी सोही ठाउँकी ५० वर्षिया सरस्वती कामतीलाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट कामतीको टाउको र कुहिनोमा गहिरो चोट लागेको थियो । दुर्घटनामा मोटरसाईकल चालक शेख पनि घाइते भएका थिए । दुवैजनालाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएको थियो । कामतीलाई टाउकोमा गहिरो चोट लागेकोले विर्तासिटीमा उपचार गराईरहेका थिए । सामान्य चोट लागेका चालक शेखलाई मेची अंचल अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचार गराइरहेका शेख अस्पतालबाट बिहान फरार भएको अस्पताल प्रशासनले जनाएको छ । फरार भएका चालक घरमा समेत नआएको ईलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

यता बिर्तासिटी अस्पतालले कामतीको टाउकोमा रगत जमेकोले तत्काल अप्रेशन गर्नुपर्ने र त्यसको लागि रकम जम्मा गर्नुपर्छ भनेपछि अतिविपन्न कामतीका आफन्तले रकम वुझाउन नसक्दा सिकिस्त विरामीलाई उपचार नै नगरी घर फर्काएका थिए । सिकिस्त विरामीलाई उपचार नगराई घर फर्काएको खबर सुनेपछि आफैले रकमको बन्दोबस्त गरी एम्बुलेन्स बोलाई नोवेल अस्पताल पठाएको वडा अध्यक्ष हिमालकुमार चम्लागाईले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्