बिर्तामोड, असोज २२ । पूर्वकै शानको रुपमा रहेको बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालाको संरक्षण हुन नसकेकोमा खेलाडीहरुले आक्रोश पोखेका छन् ।

रंगशाला सरसफाई गर्दै

स्याहारको अभावमा घाँस, झाडी र हिलाम्मे भएर रंगशाला खेल खेल्नै नसकिने अबस्थामा पुगेपछि स्थानीय खेलाडीहरुले सरोकारवाला बिर्तामोड नगरपालिका र रंगशाला संरक्षण समितिको भूमिकाप्रति प्रश्न उठाउँदै ध्यानाकर्षण गराएका हुन् । रंगशाला लथालिङ्ग अबस्थामा पुगेपछि स्थानीय युवा र खेलाडीहरुको सक्रियतामा आज बिहान रंगशालामा सरसफाई गरिएको थियो । सरसफाई अभियानमा सहभागी खेलाडीहरुले यदि संरक्षण गर्न नसक्ने हो भने डोमालाल राजवंशी रंगशाला आफूहरुलाई जिम्मा दिनुपर्ने मागसमेत गरेका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुने त्यस रंगशालाको सरसफाई आफूहरुले सहयोग संकलनबाट गरिरहेको भन्दै स्थानीय खेलाडी सन्तोष राईले उचित स्याहार नहुँदा डोमालाल राजवंशी रंगशाला वर्षको ९ महिना प्रयोगविहीन रहने गरेको बताए । उनले घरनजिक रंगशाला भएरपनि आफूहरुले शनिश्चरेमा गएर खेल अभ्यास गर्नु परिरहेको समस्या सुनाए ।

अर्का खेलाडी सन्देश शर्माले बर्खामा पुरै हिलाम्मे हुने गरेको सो रंगशालामा कम्पाउन्ड वाल नभएको , स्टेडियम नभएको ,उचित संरक्षण नभएकोजस्ता समस्याबारे ध्यानाकर्षण गराए ।उनले रंगशालाको संरक्षण गर्न नसक्नेले स्वामित्व पनि लिन नमिल्ने धारणा राखे । स्थानीय दिपेश बस्नेतले रंगशालाको हेरचाहमा संरक्षण समितिको भूमिका नदेखिएको बताउँदै अर्को समिति गठन गरिनुपर्नेमा जोड दिए ।स्थानीय रामेश्वर मण्डलले संरक्षण समितिले काम गर्न नसकेको भन्दै वर्षमा एकदिन सरसफाई गरेर नपुग्ने बताए । त्यस्तै अर्का स्थानीय झलकसिंह राजवंशीले डोमालाल राजवंशीले दिएको जग्गालाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

झापा ११ का अध्यक्ष जलकुमार गुरुङ शुरुदेखि नै संरक्षण समितिको अध्यक्षमा रहेका छन् । सरसफाई अभियानका संयोजक अनिश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रंगशालाको स्वामित्व आधिकारिक रुपमा आइनसकेका कारण रंगशालामा बजेट लगाउन नसकिएको बताइन् । उनले रंगशालाको घेरावाराको लागि आफूले नगरमा सरसल्लाह गरिरहेको जानकारी दिइन् । झापा ११ का अध्यक्ष तथा रंगशाला संरक्षण समितिका अध्यक्ष जलकुमार गुरुङले रंगशाला आफ्नो नाममा पार्नेहरुबाट जग्गा फिर्ताको प्रयास भइरहेको बताउँदै भूमाफियाबाट जग्गा फिर्ता गर्नुपर्ने र रंगशालामा संरचना निर्माण गर्नुपर्ने दुवै चुनौती रहेको सुनाए ।

कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी ,महेन्द्र रत्न माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक सेडाई , अनारमनी प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष बिरन कोइराला , चौकी इन्चार्ज असई प्रवीण खड्का ,बिर्तामोड उद्योग बाणिज्य संघका जीवन खड्का ,बिर्तामोड भेट्रान क्लबका अध्यक्ष किरण थापालगायतको उपस्थिति रहेको थियो । बाप्पा शाहले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन वडा सदस्य हरि बाँस्कोटाले गरेका थिए । सरसफाई कार्यक्रममा स्थानीय युवाहरु , खेलाडी ,अनारमनी प्रहरी चौकीका प्रहरी ,जनप्रतिनिधि , योगदान राष्ट्रका लागि झापाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्