झापा, असोज २२ । झापाको हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवं गत स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवार डम्बरबहादुर गिरीले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि नेकपा एमालेमा आवद्ध भई सक्रिय राजनीतिमा लागेका गिरी नेकपा एमालेका जिल्ला सदस्य तथा सचिवालय सदस्य हुन् । झापा क्षेत्र नम्बर ३ लाई विकास र समृद्धितर्फ डोर्याउन भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। हकी स्वभाव, निडर, साहसी, क्षमतावान् गिरी युवाहरूमा लोकप्रिय छन्।
झापा ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धेरै पुरानो नेता भएको र राप्रपातर्फका उम्मेदवार राजेन्द्र लिङ्देनको पनि कार्यकाल उपलब्धिमुलक नरहेकाले युवाका तर्फबाट आफूले उम्मेदवारी दिने उनले बताएका छन् । उनको समर्थकमा मोहनचन्द्र रेग्मी र प्रस्तावकमा लोकनाथ भट्टराई रहने बताइएको छ। स्थानीय चुनावयता गिरीले क्षेत्र नं ३ का २८ वडाहरूका १२७ संघ÷संस्थासँग जोडिएर चुनावी अभियान भित्री रूपमा चलाएको र सोही संघसंस्थाले उनलाई साथ दिने भएका छन्।
राप्रपासंग हल्दिवारीमा स्थानीय निर्वाचन हारेका गिरी झापा ३ मा एमाले र राप्रपाबीचको तालमेलप्रति सन्तुष्ट छैनन् । अघिल्लो निर्वाचनमा राप्रपाका अध्यक्ष लिङ्देनलाई सहयोग गरेर जिताएको एमालेले यसपटक पनि उसैलाई सघाउने भएको छ ।



