झापा, असोज २२ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि भोलि हुने उम्मेदवारी दर्ताका लागि झापामा सम्पूर्ण तयारी पूरा भएको छ ।

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै उम्मेदवार मनोनयन दर्ताको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापा क्षेत्र नम्बर १ को मेची नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को जिल्ला समन्वय समितिको कार्यालय, क्षेत्र नम्बर ४ को कनकाई नगरपालिका र क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ लाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली हुन् । १ मा टंकबहादुर महतो, २ मा केशव पन्त, ४ मा प्रकाश गौतम र ५ मा डम्बर काफ्लेलाई निर्वाचन अधिकृत तोकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित पाँचवटै निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरूसँग उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय तालिका र निर्वाचन आचारसंहिताबारे बृहत छलफल गरेको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए ।
उम्मेदवार मनोनयन दर्तालाई छिटोछरितो, भीडभाडरहित, सहज बनाउन दलहरूले आआफ्नो समय सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराइसकेको बताउँदै उनले भने, ‘उम्मेदवार दर्ता गराउन आउँदा २५ जनाभन्दा बढी कार्यकर्ता भेला हुन पाउँदैनन्, कार्यालय परिसरभित्र उम्मेदवार, प्रस्तावक र समर्थक गरी ५ जना मात्र प्रवेश गर्न पाउनेछन् ।’
निर्वाचनलाई स्वच्छ, भयरहित, निष्पक्ष बनाउन स्वतन्त्र उम्मेदवारसँगै साना तथा ठुलालाई दललाई समान व्यवहार गरेर अघि बढ्ने उनले बताए ।
निर्वाचन आचारसंहिता उल्लंघन नगर्न दलहरूलाई आग्रह गरिसकेको बताउँदै उनले भने, ‘आचारसंहिता उल्लंघनका घटनाबारे जानकारी आउनासाथ सम्बन्धित दललाई जानकारी गराउँछु, अटेर गरेको खण्डमा कानून बमोजिम सुरक्षाकर्मी लगाउँछु ।’
उम्मेदवार मनोनयन दर्ताका लागि जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले कोणसभा आयोजना गर्ने भएका छन् ।



