झापा, असोज २३ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य हरिकुमार रानाले पार्टी परित्याग गरेका छन् ।

अर्जुनधारा नगरपालिकाका पूर्व मेयर रानाले हिजो बेलुका पार्टी परित्याग गरेका हुन् । आफूले एमाले छोडेको कुरा हिजो बेलुका जानकारी गराएको उनले बताए ।

उनी झापा क्षेत्र नं २ बाट कांग्रेस गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने चर्चा छ । टिकट पाइसकेकी माओवादीकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईको ठाउँमा उनी उठ्ने भएका हुन् । आफूलाई झापा क्षेत्र नं २ बाट उठाउने कुरा चलिरहेको बताउँदै रानाले अन्तिम निर्णय भइनसकेको जानकारी दिए । उनले आफू निर्वाचन लड्दा स्वतन्त्र रुपमा लड्ने जानकारी दिए ।

२०४० देखिको राजनीतिक यात्राका क्रममा तत्कालीन नेकपा माले हुँदै एमालेमा आईपुग्दा अञ्चल कमिटी सदस्य, त्यसपछि एमालेको पूर्वाञ्चल कमिटीको सदस्य र पछिल्लो समय उनी प्रदेश १ कमिटीका सदस्य रहेका थिए । राना २०४९ सालमा भएको स्थानीय निर्वाचनमा शनिश्चरे गाविसको गाविस अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै पहिलो स्थानीय निर्वाचन २०७४ मा उनी अर्जुनधारा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्