झापा, असोज २४ । झापाका सत्ता गठबन्धन दलहरुले उम्मेदवार मनोनयन दर्ता गराउन जाँदा सोझा विपन्न सन्थालहरुलाई भाडामा प्रयोग गरेको पाइएको छ ।

हिजो आइतवार मनोनयन दर्ता गराउन जाँदा नेपाली कांग्रेस , माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धनले सन्थालहरुलाई भाडामा प्रयोग गरेको थियो । मनोनयनका क्रममा तामझाम देखाउन उनीहरुले सन्थाल नृत्य देखाउने टोलीहरुलाई हाजिरा दिएर भाडामा ल्याएका थिए । गठबन्धन दलबाहेक रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका झापा ३ का उम्मेदवार प्रकाश पाठक र सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार योगेन्द्र खनालले पनि आफूसंग मनोनयन दर्ता गराउन सन्थालहरुलाई भाडामा ल्याएका थिए । मनोनयन दर्तामा ठूलो तामझाम देखाउन सन्थालहरुलाई प्रयोग गरिएको हो ।

गठबन्धनका तर्फबाट क्षेत्र नं ३ मा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला,प्रदेशसभा निर्वाचनका उम्मेदवारहरु कांग्रेसकै भूमिप्रसाद राजवंशी र माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीले मनोनयन दर्ता गराउन जाँदा ६ वटा नृत्य टोली (करिव २ सय) सन्थालहरुलाई भाडामा ल्याएका थिए । जातीय पोशाक , गरगहना र बाजागाजासहितका सन्थालहरुलाई केरियर गाडीमा हालेर उम्मेदवारहरु जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ट्रेड युनियन चोकदेखि दक्षिणपट्टि आयोजित कोणसभामा ती सन्थालहरुलाई नाच देखाउन लगाइएको थियो । आफू नेतृत्वको ५० जनाको टीमलाई भाडामा ल्याएको कोणसभा अगाडि भेटिएका बाह्रदशी १ भागुडुब्बाका सुकुल हेमरमले बताए । उनले नेताहरुले नै केरियर गाडी पठाइदिएको बताउँदै दिनभरिको हाजिरा मिलाएर दिन्छौं भनेर ल्याएको जानकारी दिए । आफूहरु चकचकीको फूलबारी जान तयार रहँदा नेताहरुले बाटोबाटै उठाएर जुलुशमा लिएर आएको हेमरमको भनाई छ । त्यस्तै बिर्तामोड ९ का सुधिर सोरेन पनि ३६ जनाको टोली भाडामा लिएर आएका थिए । दुईवटा केरियरमा चढेर आएको बताउने सोरेनले दिनको ५ सयको दरले हाजिरा दिने भनेपछि नृत्य टोली खटाएको जानकारी दिए । त्यसैगरी बाह्रदशी ४ चकचकीका रमेश टुडू १० हजारमा ठेक्का मिलाएर झाँकीमा आएका थिए । आफू नेतृत्वको ३० जनाको टोली १० हजारमा ठेक्कामा आएको उनले बताए । झापा क्षेत्र नं ३ मा मात्र नभएर क्षेत्र नं ४ को मनोनयनमा पनि गठबन्धन दलका उम्मेदवारहरुले निकै सन्थालहरुलाई भाडामा ल्याएका थिए । कनकाई नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गराउन जाँदा उम्मेदवारहरुले त्यहाँ पनि सन्थालहरुको मेला लगाएका थिए । पूर्वी नेपालमा आदिकालदेखि बसोबासरत आदिवासी सन्थालहरु लोपोन्मूख अबस्थामा छन् । उनीहरुको संरक्षणका लागि नेपालका कुनै पनि राजनीतिक दलले वास्ता गरेको छैन । उनीहरुलाई राजनीतिक दलहरुले भोट बैंक र मनोरंजनको साधनको रुपमा मात्र प्रयोग गर्दै आएका छन् ।

मनोनयनकै दिन आचारसंहित उल्लंघन
सत्ता गठबन्धन दलका उम्मेदवारहरुले मनोनयनकै दिन निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

उनीहरुले हिजो मनोनयनका दिन ल्याएको सन्थाल जातिको झाँकीमा बालबालिकासमेत प्रयोग गरेको पाइएको छ । सन्थाल जातिको नृत्यमा महिला , पुरुषसंगै ससाना बालबालिकाहरु पनि उल्लेख्य रुपमा सहभागी थिए । नृत्य देखाउन सन्थाल बालबालिकाहरुलाई समेत भाडामा ल्याइएको थियो । यसरी मनोनयन दर्ता गराउन जाँदा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्नु भनेको निर्वाचन आचारसंहिता र नेपालको बाल ऐनविपरित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले बताए । उनले त्यसबारे दलहरुलाई सचेत गराउने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्