झापा , असोज २४ । यसवर्षको दशैंको अवधिमा देशभर साना ठूला गरी एकहजार ३४३ सवारी दुर्घटना भएका छन् ।
सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ भने एक हजार ३९८ जना घाइते भएका छन् । तीमध्ये २४८ जना गम्भीर घाइते रहेका छन् । असोज १० गते घटस्थापनायता उक्त संख्यामा दुर्घटना भएका हुन् । यसमा आईतबार भएका दुर्घटनाको संख्या जोडिएको छैन । ती दुर्घटनामा ६७ जना पुरुष र २२ जना महिला तथा आठ बालबालिकाले ज्यान गुमाएका नेपाल प्रहरीको तथ्यांक छ । प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा १७६ पुरुष, ५१ महिला, १५ बालक र ६ जना बालिका गरी कूल २४८ जना गम्भीर घाइते भएका छन् । यस्तै, ७१९ पुरुष, २६६ महिला, ९१ बालक र ६५ जना बालिका गरी जम्मा एक हजार १४१ जना साधारण घाइते भएका छन् ।




